Logo
५ जेष्ठ २०८१, शनिबार
(June 13, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

माइतीघर मण्डलामा प्रदर्शन : तीनजना चिनियाँ सहित सात विदेशी पक्राउ [भिडियो सहित]

कोरोना रोकथाम र नियन्त्रणमा सरकार असक्षम भएको तथा भ्रष्टाचार भएको भन्दै पछिल्ला दिनमा सडक प्रदर्शन गरिरहेका युवाहरुको समूहले माइतीघर मण्डलामा प्रदर्शन गरेको छ ।

सरकारविरोधी प्रदर्शनमा सहभागी भएका सात विदेशी पक्राउ परेका छन् । माइतीघरमा भइरहेको प्रदर्शनमा पुगेका सात जना विदेशी नागरिकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

काठमाडौं महानगरीय प्रहरी परिसरका प्रमुख एसएपी श्यामलाल ज्ञवालीले प्रदर्शनबाट सातजना विदेशी पक्राउ गरिएको बताए ।

उनका अनुसार तीनजना चिनियाँ तथा एक-एकजना अमेरिकी, क्यानेडियन, नर्वेजियन र अष्ट्रेलियन नागरिकलाई प्रदर्शनस्थलमा प्लेकार्ड बोकिरहेको अवस्थामा पक्राउ गरिएको हो ।

उनले तीनजना नेपाली नागरिक पनि पक्राउ परेको बताए । उनीहरुलाई भृकुटीमण्डपस्थित नगरप्रहरीमा राखिएको छ ।

प्रदर्शन सुरु हुनेबेलैमा प्रहरीले आन्दोलनको आयोजकमध्येको एक समूह ‘इनफ इज इनफ’का इशानलाई भने पक्राउ गरेको छ । उनीसँगै माइतीघरमा रहेका अभियन्ता अभिषेक सिंहले प्रदर्शनस्थलबाटै इशानलाई पक्राउ गरिएको बताए ।

सरकारले आन्दोलन नगर्न र आन्दोलन गरेमा सङ्क्रामक रोग ऐन अनुसार कारबाही गर्ने चेतावनी दिए पनि युवाहरुले आन्दोलन जारी राखेका छन् ।

सरकारले कोरोना नियन्त्रणमा ध्यान नदिएको, भ्रष्टाचार मौलाएको लगायतका आरोप लगाउँदै केही दिनयता युवाहरुले देशव्यापी आन्दोलन गर्दै आएका छन् ।

सामाजिक संजालबाट सडकमा ओर्लिएको यो समूहले विभिन्न प्लेकार्डहरु लिएर शान्तिपूर्ण प्रदर्शन गरेको हो ।  प्रदर्शनमा नाराबाजी गरिएको छैन । मंगलबार र बिहीबारजस्तो प्रहरीले पानीको फोहोरा र अश्रुग्यास पनि हानेको छैन ।

शनिबार नै संविधान सभाबाट नेपालको अतिक्रमित भूभाग समेटिएर जारी गरिएको नयाँ नक्सालाई निसान छापमा राख्ने गरी संविधान संशोधन गर्दैछ ।

दिउसो १ बजे यसका लागि संसद बैठक बस्दैछ । यसैलाई मध्यनजरगरि आजको प्रदर्शन नगर्न साझा पार्टी लगायतले आन्दोलनकारीलाई आग्रह गरेका थिए ।

प्रहरी स्रोतले नेपालको कानुनविपरित प्रदर्शनमा सहभागी भएकाले विदेशीलाई पक्राउ गरिएको बताएको छ । गृह मन्त्रालयले यसको अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको एक अधिकारीले बताए ।

भिडियो : 

प्रतिक्रिया दिनुहोस्