Logo
८ जेष्ठ २०८१, मंगलबार
(May 18, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोना पोजेटिभ देखिएपछि बूढानीलकण्ठको तेञ्जिङ चोक सिल, तारकेश्वरमा प्रवेश निषेध

पछिल्लो समयममा नेपालमा पनि कोरोना संक्रमित तिब्रगतिमा बढीरहेको अवस्थामा बूढानीलकण्ठ नगरपालिकाको तेञ्जिङ चोक सिल गरिएको छ ।

तेञ्जिङ चोक बसोबास गर्दै आएकी युवतीमा कोरोना भाइरस पोजेटिभ देखिएपछि युवती बसोबास गर्ने क्षेत्रदेखि २५० मिटर वरपर सिल गरिएको नगरप्रमुख उद्धवप्रसाद खरेलले जानकारी दिए ।

बूढानीलकण्ठ नगरपालिका-१२ स्थित तेञ्जिङ चोकमा बसोबास गर्ने एक १८ वर्षीया युवतीको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएपछि उक्त क्षेत्र बन्द गरिएको हो ।

संक्रमित युवती सर्लाही रामनगरकी हुन् । उनलाई अहिले शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुको आइसोलेसनमा राखिएको छ ।

युवतीको सम्पर्कमा आएका १५ जनाको पनि पीसीआर परीक्षण गरिएको छ ।

युवतीको पीसीआर रिपोर्ट पोजिटिभ आएपछि थप सतर्कता अपनाउनका लागि वडा सिल गरिएको नगर प्रमुख खरेलले जानकारी दिए । उक्त क्षेत्रमा आगामी तीन दिन एक टोलबाट अर्को टोलमा हुने आवतजावत रोकिने बताइएको छ ।

आवतजावत रोक्नका लागि प्रहरी र स्वयंसेवक परिचालन गरिएको थाहा भएको छ ।

काठमाडौंकै अर्को स्थानीय तह तारकेश्वर नगरपालिकामा भने प्रवेश निषेध गरिएको छ । तारकेश्वर नगरपालिकाले अनुमतिविना अपरिचित व्यक्ति र सवारी साधनलाई प्रवेश निषेध गर्ने भएको छ ।

कोभिड -१९ को संक्रमण मुलुकमा बढ्दै गएकाले नगरपालिकाभित्र अनुमति नलिई प्रवेश गर्न खोज्ने अपरिचित व्यक्ति तथा सवारी साधनलाई नगरपालिका क्षेत्र प्रवेशमा कडाइका साथ रोक लगाइने नगर प्रमुख रामेश्वर बोहराले जानकारी दिए ।

नगरपालिकाले लकडाउन अवधिमा काठमाडौं उपत्यका बाहिरबाट कुनै व्यक्ति आफ्नो घर, टोल वा क्षेत्रमा प्रवेश गरेको जानकारी पाएमा तत्काल प्रहरीचौकी, स्वास्थ्यचौकी, वडा कार्यालय र नगरपालिकालाई खबर गर्न आग्रह गरेको छ ।

यस्तै कुनै पनि वडामा राहत वितरण र खाना खुवाउने कार्य अबउप्रान्त नगरपालिकाको पूर्वस्वीकृति लिएर मात्र गर्नुपर्ने बताइएको छ ।

नगरपालिकाभित्र सञ्चालित व्यवसाय एवं उद्योगमा कार्यरत श्रमिकको स्वास्थ्य सुरक्षाको जिम्मा सम्बन्धित उद्योगधनी तथा व्यवसायीले पूर्ण रुपमा लिई सञ्चालन गर्नुपर्ने नगरपालिकाले जनाएको छ ।

नगरपालिकाभित्र सञ्चालित खाद्य सामग्री, तरकारी, ग्यास र दुग्धजन्य पसल दिनको एक पटक बिहान ५ देखि ९ बजेसम्म खोल्न दिइने बताइएको छ ।

 

प्रकाशित मिति: May 18, 2020

प्रतिक्रिया दिनुहोस्