Logo
५ जेष्ठ २०८१, शनिबार
(May 5, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लकडाउन लम्ब्याउने सरकारको तयारी : उच्चस्तरीय समितिको सिफारिस

सरकारले ६ सातादेखि जारी लकडाउन थप लम्ब्याउने तयारी गरेको छ। आज बसेको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले यस्तो तयारी गरेको हो।

बालुवाटारस्थित् प्रधानमन्त्री निवासमा बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसमेत उपस्थित थिए।

समितिको बैठकपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण बिडारीले लकडाउन लम्ब्याउनेबारे छलफल भएको र लकडाउन निरन्तर जाने प्रतिक्रिया दिए।

“अहिले सरकारले जुन नीति अख्तियार गरेको छ, जुन बाटोमा हिँडिएको छ, यो सही छ भन्ने छलफलबाट निष्कर्ष निकालियो”, सचिव बिडारीले भने, “लकडाउन निरन्तर रहन्छ।”

प्रधानमन्त्री ओलीको उपस्थितिमा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले लकडाउन लम्ब्याउने निश्कर्ष निकालेको हो। ‘अहिले पनि अवस्था जोखिमपूर्ण छ।

त्यसैले तत्कालै लकडाउन खोल्ने अवस्था छैन’ एक मन्त्रीले भने, ‘लकडाउनको मोडालिटी के गर्ने भन्नेमा समेत अझै भन्न सकिने अवस्था छैन।’

बुधबार बस्ने मन्त्रिपरिषदको बैठकले यसबारेमा अन्तिम निर्णय गर्ने उनले बताए। लकडाउन बढाउनपर्ने निश्चित देखिए पनि यसको मोडालिटी र समयबारे भने बुधबारको बैठकले मात्रै टुंगो लगाउने ती मन्त्रीको भनाई छ।

मन्त्रिपरिषदको बैठक बुधबार ११ बजेका लागि बोलाइएको छ। पछिल्लो पटक थपिएको लकडाउनको समय पर्सि सकिँदैछ। यसअघि भारतले मे १७ अर्थात आगामी जेठ ४ गतेसम्मका लागि लकडाउन थपेकाे छ।

हेर्नुस् भडियो :

प्रतिक्रिया दिनुहोस्