अन्तिम समयमा प्रचण्डबाट ‘धोका भयो’ भन्दै माधव नेपाल आक्रोशित, निकटस्थसँग परामर्श
अन्तिम समयमा पुष्पकमल दाहाल प्रचण्डले आफूलाई धोका दिएको भन्दै नेकपा वरिष्ठ नेता माधवकुमार नेपालले प्रचण्डप्रती आक्रोशित बनेका छन् । अहिले आफूमाथि धोका भएको भन्दै नेता नेपाल निकटस्थसँग बसेर कोटेश्वरमा समिक्षा गर्न थालिसकेका हुन् ।
विश्वस्त स्रोतका अनुसार माधव नेपालले प्रचण्डबाट किन धोका भयो ? भनी खोज्न थालेका हुन् । उनले प्रचण्डमाथि आशंका गरेका छन् । प्रचण्डलाई नेकपा बैठकको एजेन्डा प्रस्तुत गर्न सक्ने अधिकार दिइएको छ ।
यसमा सबै शक्ति लेनदेन भएको बुझाई नेपाल पक्षको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सत्ता संकट गहिरिइसकेको थियो ।
उनी सम्झौताका लागि बामदेव गौतमलाई प्रधानमन्त्री र माधवकुमार नेपाललाई तेस्रो अध्यक्षको प्रस्ताव सम्म गर्न पुगेका थिए ।
यतिसम्मकी बागमती प्रदेश र गण्डकी प्रदेशको मुख्यमन्त्री फेरि माधव नेपाल निकटकालाई दिन तयार भइसकेका थिए ।
बामदेवको साथका बाबजुद प्रचण्डबाट साथ पाए ओलीलाई ढाल्न सक्छु भन्ने माधव नेपालको आँट बनिसकेको थियो ।
ओली गलिसकेको अवस्थामा केही कार्डले काम गरेको छ । बामदेवलाई प्रधानमन्त्री बनाउने कार्ड बलियो भयो । यसले प्रचण्डलाई समेत सतर्क बनायो ।
यसैबीच अदालतबाट अकस्मात फैसला आयो । द्धन्द्धकालको मानवअधिकार हननको गम्भीर मुद्दामा आममाफी दिन नमिल्ने फैसला आयो ।
प्रचण्डका केही विश्वासपात्र नै ओलीको पक्षमा उभिएको देखिनथाल्यो । ओली हटाउन हुँदैन भन्न थाले । लेखराज भट्ट, टोपबहादुर रायमाझी र दिनानाथ शर्माले पनि सार्वजनिक रुपमा बोले । यी बोलीहरु अर्थपूर्ण थिए ।
राष्ट्रपति विद्यादेवी भण्डारीको सक्रियता पनि बढ्यो । भण्डारीले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग टेलिफोन वार्ता गरिन् । यता ओली दिन बिराएर शितलनिवास छिर्न थाले ।
भण्डारीले भित्री रुपमा ओली र प्रचण्डबीच मध्यस्थकर्ताको भूमिका निभाएको चर्चा चलिरहेको छ ।
शनिबारको सहमतिपछि वरिष्ठ नेता झलनाथ खनाल पनि दंग छन् । अब ओलीको राजीनामा मागिदैन भन्न थालेका छन् । बामदेव बोल्न छाडेका छन् । उनको ध्यान पाल्पा १ बाट प्रतिनिधिसभा सदस्य बन्ने रहेको छ ।
माधवकुमार नेपाल भने यसपटक एक्लाइए । शुरुमा ओलीलाई औंला ठड्याउने उनी नै थिए । तर, भैंसेपाटीस्थित बामदेव गौतमको निवासमा बनेको योजना त्यसै तुहिएको छ ।
ओलीलाई सत्ताबाट हटाउन एकढिक्का भएको प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र बामदेवको समूह यताउता पुगेको छ ।
अब २५ वैशाखमा बस्ने स्थायी कमिटि बैठकले धेरै तथ्यहरु खुलाउन सक्छ । को कता सबै यथार्थ बाहिर आउनसक्छ । कस्ले कसलाई कसरी धोका दियो विषय उठान पनि हुनसक्छ ।