Logo
३० बैशाख २०८१, आईतबार
(April 18, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जो जहाँ छन् त्यसलाई त्यहीँ राहत : उपत्यका भित्रिने/बाहिरिने सबै नाकामा विशेष कडाई

विश्वब्यापी कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि लागु गरिएको लकडाउनका बिच हिडेरै घर जानेहरु बढ्दै गएपछि उपत्यका भित्रने सबै नाकामा विशेष कडाई थालिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले हिडेर जान नदिन तथा सिमामा पुगेकालाई रोकेर खानाको व्यवस्थासहित क्वारेन्टाइनमा राख्न दिएको निर्देशनसंगै शनिबारदेखि थप कडाई थालिएको हो ।

लकडाउनको पूर्ण रुपमा पालना गराउन उपत्यका भित्रिने सबै नाकामा विशेष सुरक्षा संयन्त्रहरुलाई परिचालन गरिएको छ । द्वन्दकालको झल्को दिनेगरि ति नाकाहरुमा सुरक्षा पोष्ट नै राखेर मानिसहरुको आवत जावतलाई ठप्प पारिएको छ ।

उपत्यका भित्रने थानकोट नागढुंगा, बल्खु फर्पिङ, साँखु, मर्खु भन्ज्याङ, बालाजु बाइपास, साँगा भन्ज्याङ नाकामा शनिबार बिहानैदेखि पूर्ण रूपमा बन्द गरिएको छ।

तर, अत्यावश्यक वस्तुको ढुवानीमा मेडिकल टिम सुरक्षा निकाय तथा बिरामी बोकेका सवारीसाधन भने आवतजावत गर्न पाउनेछन् ।

हाल काठमाडौं र अन्य सहरी क्षेत्रबाट आफ्नो गाउँतर्फ पैदल हिँडेका यात्रीको दर्दनाक अवस्थासहितका समाचारहरु आउन थालेपछि प्रधानमन्त्रीले जो जहाँ छन् तिनिहरुलाई त्यहि खाने व्यवस्थासहित हिडडुलमा कडाई गर्न निर्देशन दिएसंगै प्रहरी थप सक्रिय भएको छ ।

प्रधानमन्त्री ओलीले मुलुकको स्वास्थ्य सङ्कटको गम्भीर परिस्थितिलाई बुझेर ‘लकडाउन’को कडाईसाथ पालना गर्न गराउन शुक्रबार निर्देशन दिएका थिए।

ओलीले प्रदेश र स्थानीय सरकारले लकडाउन र रोग सङ्क्रमणको असग्र अवस्थाको मूल्याङ्कन, अनुगमन र व्यवस्थापन गर्नसमेत निर्देशन दिदै राजधानीमा कोरोना सङ्क्रमण थप पाइएपछि काठमाडौंबाट बाहिर जानका लागि थप कडाई गर्ने निर्णय गरेका हुन् ।

शुक्रबार १४ जना सङ्क्रमितको संख्या थपिएपछि लकडाउनलाई अझ कडाई गर्नुपर्ने अवस्था आएको जनाइएको छ । लकडाउनको अवस्थामा पनि हिँडेरै घर जानेहरुको लर्को राजमार्गमा देखिन थालेपछि तिनको व्यवस्थापन गर्ने कि भन्ने विषयमा उच्चस्तरीय समन्वय समितिमा छलफल समेत भएको थियो ।

कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको शुक्रबार बसेको बैठकमा काठमाडौंबाट पैदल यात्रा गर्दै घर फर्कनेहरुलाई स्थानीय र प्रदेश तहको समन्वयमा व्यवस्थापन जिम्मेवारी दिइएको छ ।

प्रहरीलेसमेत लकडाउनको समयमा अनावश्यक घर बाहिर निस्कनेमाथि मुद्दा चलाउने समेत जनाइसकेको छ ।

प्रकाशित मिति: Apr 18, 2020

प्रतिक्रिया दिनुहोस्