भारतमा कोरोना महामारीको मुख्य कारक बनेको तब्लिगी जमातको यस्तो छ, नेपाल कनेक्सन
भारतको नयाँ दिल्लीस्थित निजामुद्दीनमा मार्च महिनाको मध्यतिर एउटा धार्मिक भेला भएको थियो । तब्लिगी जमात भनिने मुस्लिम समुदायको उक्त धार्मिक भेलामा नेपालसहित विभिन्न देशका चार हजार भन्दा बढी धार्मिक व्यक्तिहरु सहभागी थिए ।
तर, त्यही सभा भारतमा कोरोना भाइरसको संक्रमण फैलाउने मुख्य कारक बनेको छ । जसको असर नेपालसम्म परेको छ । भारत सरकारले उक्त धार्मिक भेलामा सहभागीमध्येबाट शुरुमा पाँच सयभन्दा बढी व्यक्ति संक्रमित भएको तथ्य पत्ता लगायो ।
लगत्तै निजामुद्दीनको उक्त इलाका नै खाली गरायो । निजामुद्दीनस्थित मकरेजको तब्लिगी जमातीसँग सम्बन्धित यो भेलामा सहभागीका कारण भारतका अन्य क्षेत्रमा पनि महामारी फैलियो ।
उक्त भेलामा सहभागी एकजना नेपाली सफिद मिया कोरोना संक्रमित भएको पुष्टि भइसकेको छ । उनलाई उत्तर प्रदेशमा उपचारका लागि अस्पताल राखिएको थियो ।
अस्पतालबाट फरार ती व्यक्ति पछि पक्राउ बागपत जिल्लामा पक्राउ परे । अहिले फेरि मुस्लिम धार्मिक सम्मेलनमा सहभागी भई फर्किएका तीनजना नेपालीलाई कोरोना भाइरसको संक्रमण भएको खुलेको छ ।
वीरगञ्जस्थित मस्जिदमा बस्दै आएका उनीहरुलाई नियन्त्रणमा लिइएको छ । सम्पर्कमा आएकाहरुलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । तब्लिगी जमातीसँग सम्बन्धित उनीहरुका कारण नेपालमा पनि महामारी फैलन खतरा बढेको छ ।
सरकारले लकडाउन गरेर रोकथामको कडा उपाय अपनाइरहँदा ९ जनामा सिमित भइरहेको संक्रमित संख्या बढेको विषय बाहिर आइसकेको छ ।
यसअघि १३ इन्डोनेशियाली महालक्ष्मी नगरपालिकामा ल्याइएकोमा उनीहरुको सम्बन्ध पनि तल्लिगी जमातीसँग भएको विषय उठेको थियो ।
ती इन्डोनेशियालीलाई अहिले गोप्य स्थानको क्वारेन्टाइनमा राखिएको छ । यसअघि सप्तरीको मुस्लिम सम्मेलन पनि दिल्लीको निजामुद्दीनस्थित मकरेजको तब्लिगी जमातसँग समेत सम्बन्ध जोडिएको खुलिसकेको छ ।
४ देखि ६ फागुनमा सप्तरी बोदेबर्साइन ५ जाजरामा भएको सम्मेलनमा प्रवचन दिन दिल्लीस्थित मर्कट जामे मस्जिदका मौलाना मोहम्मद हजरत साद पुगेका थिए ।
साद निजामद्दीनको तब्लिगी जमातका प्रमुख हुन् । सादले प्रबचन दिएको धार्मिक सम्मेलनमा दुई लाख मुसलमान समुदायको सहभागिता थियो ।
दिल्लीको निजामुद्दीनमा विश्वभरका चार हजार मुसलमान धर्मालम्बीहरुको सहभागिता थियो । त्यही सम्मेलनमा सहभागीमध्येबाट सयौंलाई कोरोना भाइरसको संक्रमण भएको तथ्य खुलेको थियो ।
दर्जनौंको मृत्यु भयो । जमातेमा सहभागीको सम्पर्कमा आएका हजारौंलाई क्वारेन्टाइनमा राखिएको छ ।