Logo
५ जेष्ठ २०८१, शनिबार
(April 8, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

घरमा बसेका कर्मचारीका लागि सामान्य प्रशासन मन्त्रालयको १० बुँदे परिपत्र

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लकडाउनलाई प्रभावकारी बनाउन विभिन्न १० बुँदे निर्देशन जारी गरेको छ ।

विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड-१९ को रोकथाम तथा नियन्त्रणको लागि सरकारले गरेको लक डाउन अवधि भरीका लागि उक्त निर्देशन जारी गरेको हो ।

लक डाउनका कारण अति आवश्यक सेवा प्रदान गर्ने निकायमा कार्यरत बाहेक घरमै बसेका कर्मचारीका लागि उक्त निर्देशन जारी गरेको हो ।

सो १०बुँदे निर्देश निम्नबमोजिम रहेको छ :

१. आफूभन्दा एक तहमाथिको कर्मचारीसँग नियमित सम्पर्कमा रहने

२. टेलिफोन तथा इन्टरनेटसँग सम्बन्धित सूचना प्रविधिका साधनहरू प्रयोग गरी घरमै बसेर गर्न सकिने कार्यहरू कार्यालयप्रमुख तथा सुपरिवेक्षकसँग समन्वय गरी सम्पन्न गर्ने, कोभिड– १९ बाट सुरक्षित रहने तथा आफ्नो परिवारका सदस्य र आफ्नो सम्पर्कमा रहेका व्यक्तिहरूलाई नेपाल सरकारले दिएका निर्देशनको पूर्ण पालना गर्न सहयोग र सहजीकरण गर्ने

३. कोभिड– १९ भाइरसबाट आफू पनि सुरक्षित रहने तथा आफ्नो परिवारका सदस्य र आफ्नो सम्पर्कमा रहेका व्यक्तिहरूलाई नेपाल सरकारले दिएका निर्देशनको पूर्ण पालना गर्न सहयोग र सहजीकरण गर्ने

४. आफू बसेको स्थानवरिपरि ‘लकडाउन’ सुरु भएको मितिपछि कोभिड– १९ बाट प्रभावित स्थानबाट आएको व्यक्ति अनावश्यक रूपमा घुमफिर गरेको पाइएमा निजलाई क्वारेन्टाइनमा बस्न अनुरोध गर्ने र त्यसरी अनुरोध गर्दा पनि कुनै व्यक्ति क्वारेन्टाइनमा नबसी बाहिर हिँडडुल गरेको पाइएमा सम्बन्धित वडा कार्यालयमा जानकारी गराउने, साथै सोको सूचना जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई समेत गराउने

५. कुनै व्यक्तिमा कोभिड– १९ सँग मिल्दोजुल्दो लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा जान अनुरोध गर्ने तथा आवश्यक परेको अवस्थामा वडा कार्यालय वा गाउँपालिका तथा नगरपालिकामा खबर गर्ने

६. नेपाल सरकारका निकाय तथा स्थानीय तहबाट सञ्चालन गरिएका लगत संकलन, राहत वितरणजस्ता कार्यमा सहयोग पुऱ्याउने

७. दैनिक उपभोगका वस्तुहरूको मूल्य अस्वाभाविक रूपमा बढेको पाइएमा सोको जानकारी वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, कार्यालय प्रमुख जिल्ला अधिकारी, स्थानीय तह, नजिकको प्रहरी इकाइलाई जानकारी गराउने

८. अनावश्यक रूपमा कुनै पनि व्यक्तिलाई बाहिर ननिस्कन अनुरोध गर्ने । साथै, अत्यावश्यक कामको लागि घरबाट बाहिर निस्कँदा मास्कको प्रयोग गर्ने, सामाजिक दूरी कायम गर्ने तथा आफ्नो सम्पर्कका अन्य व्यक्तिहरूलाई समेत मास्कको प्रयोग गर्न र सामाजिक दूरी कायम गर्न प्रोत्साहित गर्ने । कुनै व्यक्तिले यी विषयहरू पालना नगरेको अवस्थामा स्थानीय तह वा नजिकको प्रहरी इकाइलाई खबर गर्ने

९. दैनिक उपभोगका वस्तुहरू बिक्री–वितरण गर्ने स्थानमा सामाजिक दूरी कायम गर्ने व्यवस्था भए–नभएको हेरी नभएको पाइएमा त्यस्तो दूरी कायम गर्ने व्यवस्था मिलाउन अनुरोध गर्ने र सोबमोजिम नगरेको पाइएमा स्थानीय तह वा प्रहरी इकाइमा सूचना दिने

१०. दैनिक उपभोगका सामग्रीहरूको अभाव हुन सक्ने अवस्थालाई मध्यनजर गरी यस्ता वस्तुहरूको मितव्ययी प्रयोग गर्ने तथा अन्य व्यक्तिहरूलाई मितव्ययी बन्न अनुरोध गर्ने

प्रकाशित मिति: Apr 8, 2020

प्रतिक्रिया दिनुहोस्