Logo
५ जेष्ठ २०८१, शनिबार
(March 28, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

म शवगृहनजिकैको कोठामा छु, अहिलेसम्म कसैले पानी पनि दिएको छैन : धनगढीका संक्रमित युवक

सुदूरपश्चिम प्रदेश स्थित धनगढीका कोरोना भाइरस संक्रमित युवकलाई शवगृहनजिकैको कोठामा राखिएको र अहिलेसम्म कोही पनि स्वास्थ्यकर्मी उनको उपचारमा नपुगेको संक्रमित युवक र उनको परिवारले बताएको छ।

दुबईमा काम गर्दै आएका युवा २० मार्च (चैत ७ गते) बिहान ७ बजे दिल्ली पुगेका थिए। दिल्लीबाट विस्तार एयरलाइन्सको फ्लाइटमा साँझ ४ बजे काठमाडौं पुगेका थिए।

काठमाडौं विमानस्थलबाट मामाको छोरासँग मोटरसाइकलमा मामाघर पुगेको उनले बताए। घरमा माइजुमात्र थिइन्। मामाको घरमा अलग्गै कोठामा बसेको ती युवाले बताए।

युवा विगत चार वर्षदेखि दुबईमा काम गरिरहेका छन्। दुबईबाट आउँदा युवकलाई कुनै लक्षण नभए पनि धनगढीस्थित घर पुगेपछि सामान्य रुघाखोकी लागेको बताए।

‘श्रीमतीले १० गते राति उपचारमा जान सुझाव दिइन्। म श्रीमतीकै आग्रहमा ११ गते एक जना भाइ नातापर्ने सँग मोटरसाइकलमा सेती प्रादेशिक अस्पतालमा भर्ना भएँ। ११ गतेदेखि अस्पतालको आइसोलेशनमै म उपचाररत थिएँ।’

शुक्रबार धनगढी उपमहानगरपालिका वडा नम्बर ५ बस्ने ती युवकमा कोरोना भाइरस भएको पुष्टि भएको थियो। कोरोना भाइरस पुष्टि भएसँगै युवालाई अस्पतालको शवगृह छेउमै रहेको कक्षमा एक्लै राखिएको थियो।

समाजिक संजाल मार्फत ती युवकले भने, ‘मेरो स्वास्थ्य अवस्था सामान्य नै छ। हल्का खोकी लोगेको छ। ज्वरो ९७ डिग्री मात्रै छ। मलाई अलग्गै राखेदेखि अहिलेसम्म चेकजाँच गर्न कोही आएका छैनन्। अहिलेसम्म न औषधी दिएका छन्, न त तातोपानीकै व्यवस्था गरेको छ। म चिसो पानी खाएर बसेको छु।’

‘२१ मार्च (चैत ८ गते) काठमाडौंबाट सिधै धनगढी आउने भनेको थिएँ, तर टिकट नपाएपछि मैले नेपालगन्जको टिकट काटेँ। काठमाडौंबाट नेपालगन्जसम्म बुद्ध एयरको फ्लाइटमा पुगेको थिएँ’, ती युवकले भने, ‘नेपालगन्जको विमानस्थलदेखि कोहलपुरमा विद्युतीय रिक्सामा पुगेँ। कोहलपुरबाट माइक्रोमा अत्तरियासम्म पुगेँ। अत्तरियादेखि बस समातेर धनगढी पुगेको थिएँ।’

 

प्रकाशित मिति: Mar 28, 2020

प्रतिक्रिया दिनुहोस्