Logo
७ बैशाख २०८१, शुक्रबार
(March 20, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अझै पनि सार्वजनिक सवारीहरु कोचाकोच, कोरोना भाइरसको जोखिम उत्तिकै

कोरोना भाइरस अर्थात् कोभिड १९ का कारण मानिसहरुमा त्रास बढ्दै गएको भएपनि सार्वजनिक सवारी अझै पनि कोचाकोच, साथै कोरोना भाइरसको जोखिम उत्तिकै बढ्दै गएको छ ।

बिहीबार मध्यान्हमा बानेश्वरबाट पेप्सीकोला जान लागेकी उर्मीला पौडेललाई बसमा कोचिएर यात्रा गर्न मन थिएन । भीड देखेर दुईवटा बस छाडिसकेकी उनलाई तेस्रो बसले पनि निरास बनायो । उनी त्यसमै कोचिएर गइन् ।

भीडमा हिँड्दिनँ भनेर के गर्नु, खाली सिट भएको बस भेटे पो ।यस्तो समस्या अहिले सार्वजनिक सवारी चढ्ने अधिकांश यात्रुहरुको नै हुन्। सम्भव भएसम्म त आजभोलि धेरैले सार्वजनिक सवारी प्रयोग नै गर्न छाडेका छन् ।

तर, विकल्प नभएका यात्रुलाई भने कोचिएर यात्रा गर्नु बाध्यता नै छ ।अहिले काठमाडौंका सार्वजनिक सवारी चढ्नेमध्ये आधाजसो त मास्क लगाएरै यात्रा गरिरहेका छन् । तर, सार्वजनिक बसमा अझै पनि सुरक्षित वातावरण तयार हुन सकेको छैन ।

बुधबार सरकारले सार्वजनिक सवारीलाई सिट क्षमताभन्दा बढी यात्रु बोक्न नदिने निर्णय गरेको थियो । त्यसकै आधारमा यातायात व्यवस्था विभागले बिहबिार सूचना पनि जारी गर्दै यातायात कम्पनीलाई भन्यो, ‘सिटक्षमताभन्दा बढी यात्रु नचढाउनू ।’

एकातिर व्यवसायीहरुलाई घाटाको पीर छ भने अर्कोतिर यात्रुहरुलाई त्रास साथसाथै कोरोना भाइरसको जोखिम उत्तिकै बढेको छ ।

तर, विभाग यसको अनुगमनका लागि सडकमा आएन । जसका कारण यात्रुले त डरमर्दो वातावरण्मा यात्रा गर्नु पर्‍यो नै, सरकारले संक्रमण फैलन नदिन अपनाएको भनिएको सावधानी कागजमै सीमित रहन पुग्यो ।

निर्णय गर्ने तर, कार्यान्वयनमा चासो नदिने पुरानो चलन यस्ता संवेदनशील विषयमा पनि दोहोरियो । यसका कारण सार्वजनिक सवारी धनी र चालकहरुले पुरानै शैलीमा सवारी चलाइरहेका छन् ।

सडकमा भेटेजति यात्रु चढाउने उनीहरुले यसकै कारण भविष्यमा संक्रमण्म फैलियो भने के गर्ने भन्ने जिम्मेवारी बोध गरेका छैन् ।

‘माइक्रोमा १५–१६ जना राख्दा भरिन्छ, बढी यात्रु बोक्न नदिने हो भने त गाडी चलाउन पर्दैन,’ उनी भन्छन्,‘हामीले पनि बैकको किस्ता तिर्नुपर्छ, घरपरिवार चलाउनुपर्छ ।’

अधिकांश सवारी धनीको भनाइ महर्जनको भन्दा फरक छैन । यात्रुको चाप घटेर यसै पनि पर्याप्त नाफा नभइरहेको अवस्थामा सरकारले गरेको निर्णय व्यवहारिक नभएको उनीहरुको भनाइ रहेको छ ।

संक्रमण फैलाउने हिसावले सार्वजनिक यातायात सबभन्दा जोखिमपूर्ण रहेको विज्ञहरु बताउँछन् । सार्वजनिक गाडीमा गुन्द्रुकुजसरी कोचिएर यात्रा गर्नुपर्ने बाध्यता छ । भाइरस संक्रमणको हिसावले यसलाई ज्यादै खतरनाक अवस्था भन्छन्, सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनले बताएका छन् ।

कतिपय सार्वजनिक सवारी सञ्चालकहरुले यात्रुलाई ज्वरो आए, नआएको जाँच गर्न त थालेका छन्, तर बिरामीलाई गाडीमा निषेध गर्न सकिँदैन । यसले गर्दा सार्वजनिक यातायातलाई कोरोना सल्केर बिस्फोट हुने वारुदखाना जस्तो बनाइदिएको छ ।

फेरि सार्वजनिक सवारी प्रयोग गर्ने अधिकांश यात्रुलाई कसरी सतर्कता अपनाउने भन्ने जानकारी पनि छैन । जानकारी भएकाहरु पनि हेलचेक्र्याइँ गर्छन् । मास्क लगाएर यात्रा गर्नेहरु थोरै देखिन्छन् ।

स्वास र नाक–मुखबाट निस्कने छिटाका कारण स्वास्थ सुरक्षाको हिसाबले सार्वजनिक सवारी त्यसैपनि उच्च जोखिममा हुने डा. पुन बताउँछन् । ‘सार्वजनिक गाडीमा यात्रुहरुबीच प्रत्यक्ष सम्पर्क–सम्वाद हुन्छ नै’, उनी भन्छन्, ‘कोरोना भाइरसको यो समयमा सार्वजनिक यातायातको क्षेत्रमा अरु बेलाजस्तै भइरहेको हेल्चेक्रयाईंले ज्यादै खतरनाक सन्देश दिइरहेको छ ।’

प्रकाशित मिति: Mar 20, 2020

प्रतिक्रिया दिनुहोस्