Logo
८ असार २०८२, आईतबार
(March 18, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

समितिबाट मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धी विधेयक पारित

प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको आजको बैठकले संशोधनसहित ‘मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यायसम्बन्धी विधेयक पारित गरेको छ ।

मूलतः विज्ञान तथा प्रविधि विषयमा विश्वस्तरको शिक्षा र अनुसन्धानका लागि नयाँ संरचनामा सो विश्वविद्यालय स्थापना हुन लागेको हो ।विधेयकमाथि विभिन्न सदस्यको संशोधन र छलफलका आधारमा टुङ्गोमा पुग्न बाँकी विषयलाई समेत आज नेपाल सरकारको धारणा लिएर सहमतिमा पारित भएको हो ।

बैठकमा समितिका सभापति जयपुरी घर्तीले विश्वविद्यालयको अध्यक्षमा नेपाली नागरिक हुनुपर्ने र विश्वविद्यालयको संरक्षक समितिमा सम्बन्धित क्षेत्रबाट प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित सांसद सदस्य हुने गरी निर्णयार्थ प्रस्तुत गर्दा सर्वसहमतिले पारित भएको थियो ।

सरकारले विश्वविद्यालयको अध्यक्षमा विदेशी नागरिक पनि हुनसक्ने प्रस्ताव गरेकामा समितिले अध्यक्षमा हुन नहुने तर अन्य पदाधिकारी हुन सक्ने गरी बाटो खुल्ला गरेको छ ।

अन्य विश्वविद्यालयमा उपकुलपतिको कार्यकारी नेतृत्व रहने व्यवस्था भएकामा यस विश्वविद्यालयमा अध्यक्षले नेतृत्व गर्ने नयाँ संरचनागत प्रस्ताव गरिएको छ ।

सो विश्वविद्यालयको केन्द्रीय कार्यालय मकवानपुरको चित्लाङ वा काभ्रेको पाँचखाल र नमोबुद्धमा हुने भनी सरकारले आजको बैठकमा प्रस्तुत गरे पनि समितिले केन्द्रीय कार्यालय विश्वविद्यालयको संरक्षक समितिले निर्णय गरेको स्थानमा हुने गरी पारित गरेको छ ।

संरक्षक समितिको दुई सदस्य मदन भण्डारी मेमोरियल फाउण्डेनका अध्यक्षले तोक्ने भनी प्रस्ताव गरिएकामा विश्वविद्यालयका अल्मुनाइमध्येबाट हुने गरी पारित भएको छ ।

मुलुकका लागि आवश्यक पर्ने सक्षम, उच्च प्राविधिक, वैज्ञानिक र विचारको उत्पादन तथा नयाँ ज्ञान र प्रविधि सिर्जना गर्न सो विश्वविद्यालय स्थापना हुन लागेको हो ।

बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विश्वविद्यालय स्थापनामा सघाउन चिनियाँ पक्ष तयार भएकाले केन्द्रीय कार्यालयबारे पछि पनि निर्णयमा पुग्न सकिने बताउँदै विज्ञान र प्रविधिका क्षेत्रमा अनुसन्धान केन्द्रित हुने गरी विश्वस्तरको विश्वविद्यालयको स्थापना गर्न लागिएको जनाए ।

उनले समृद्धिका लागि आवश्यक जनशक्ति उत्पादनका दृष्टिले उक्त विश्वविद्यालयका विशिष्टिकृत हुने जनाउँदै विज्ञान र प्रविधिका साथै साझेदारी र आवश्यकताका आधारमा अन्य विषयमा पनि पढाउन सकिने गरी बाटो खुल्ला हुनुपर्नेमा जोड दिए ।

बैठकमा सांसद खगराज अधिकारी, मनकुमारी जिसी, उमेश श्रेष्ठ, जीवनराम श्रेष्ठ, सुरेन्द्रकुमार यादव, सरिता न्यौपाने, विद्या भट्टराईलगायतले विधेयकको मूलभाव सही भएकाले संशोधन र सुझावका आधारमा थप व्यवस्थित कानून बनाउन जोड दिएका थिए ।

प्रकाशित मिति: Mar 18, 2020

प्रतिक्रिया दिनुहोस्