कांग्रेस नेता चौधरीले अनुशासन समिति सदस्यबाट दिए राजीनामा
पार्टीमा अनुशासनहीन प्रवृत्ति बढ्दै गएको भन्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य उमाकान्त चौधरीले पार्टीको केन्द्रीय अनुशासन समितिबाट राजीनामा दिएका छन् ।
केन्द्रिय सदस्य रहेका चौधरीले केही दिनअघि नेता कृष्णप्रसाद सिटौलासमक्ष राजीनामा पत्र बुझाएका हुन् । चौधरी नेता सिटौला समूहबाट अनुशासन समिति सदस्यमा मनोनित भएका थिए ।
स्रोतका अनुसार नेता चौधरीले होली पर्वअघि नै सिटौलालाई राजीनामा पत्र बुझाएका हुन् । “नेतृत्वले गल्ती गर्दै जाने अनि अनुशासन समितिमा बसेर तल्लो तहका नेता–कार्यकर्तालाई कारबाही गर्दै जाने नैतिकताले दिँदैन ।
पार्टी विधि विधानका सीमामा चलेन । पार्टीमा अनुशासन कायम हुन नसकेको लगायतका कुरा उल्लेख गरेर राजीनामा बुझाउनुभएको हो,” चौधरी निकट स्रोतले भन्यो ।
यद्यपि, नेता सिटौलाको सचिवालयले भने चौधरीको राजीनामा पत्रका बारेमा पुष्टि गरेको छैन । सिटौलाका स्वकीयसचिव किरण सिटौलाले राजीनामा पत्रका बारेमा आफूलाई कुनै जानकारी नभएको बताएका छन् ।
सिटौला समूहमा रहेका अन्य नेताहरूले पनि चौधरीको राजीनामा पत्रका बारेमा कुनै जानकारी नभएको प्रतिक्रिया दिएका छन् । सिटौला समक्ष बुझाइएको राजीनामा पत्र पार्टी सभापति शेरबहादुर देउवालाई भने बुझाइएको छैन ।