Logo
३१ बैशाख २०८१, सोमबार
(March 11, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चितुवाले ओछ्यानबाटै लग्यो ८ वर्षीया बालिका

घरभित्र सुतेकै ठाउँबाट लगेर चितुवाले आठ वर्षीया बालिकालाई मारेको छ । मेलौली-९ असुरमा मंगलबार बिहान ४ बजे घटना भएको हो । साइँली छोरी सीतालाई चितुवाले मारेपछि पदमराम र गुनडी लुहार शोकसँगै त्रासमा छन् ।

सोमबार बेलुकीको खाना खाएर लुहार दम्पती पाँच सन्तानसँगै घरमा सुतेका थिए । छिमेकीकी छोरीको मृत्यु भएको खबर सुनेर पदमराम राति कुर्नका लागि घरबाट निस्किए ।

बिहान ४ बजे बच्चाहरू सुतेको कोठामा ढोका ठेलेर पसेको चितुवाले सीतालाई घिस्याउँदै कुदाएको थाहा पाए पनि आफूले चिच्याउँदासम्म बाहिर पुर्‍याइसकेको आमा गुनडीले बताइन् । उनीबाट छिमेकीले थाहा पाएर होहल्ला गर्दासम्म बस्तीबीचको घर वरपर न चितुवा देखियो न सीता फेला परिन् ।

प्रहरी बोलाइएपछि खोजी गर्दा घरभन्दा ५ सय मिटर टाढा सिमखोलामा बालिकाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका डीएसपी डिल्लीनारायण पाण्डेयले बताए ।

बस्तीका बीचमा रहेको घर भए पनि अँध्यारो भएकाले चितुवाले आक्रमण गरेको हुन सक्ने स्थानीयले बताएका छन् । लुहार दम्पतीका पाँच सन्तानमा सीताभन्दा मुनि ४ र ६ वर्षका भाइबैनी छन् भने ठूला १८ र १२ वर्षीया दुई दिदी छन् ।

साइँली छोरी गुमाउनुपरेको पीडासँगै अरू छोराछोरीको ज्यान कसरी जोगाउने भन्ने पीर भएको गुनडीले बताइन् ।

‘झ्याप्प आएर लिएर गयो, कराउँदा पनि छोडेन,’ उनले भक्कानिँदै भनिन्, ‘अब अरू चेलाचेली कसरी जोगाउने भन्ने चिन्तामा छौं । चेलो (छोरा) भर्खर ४ वर्षको भयो । के थाहा फेरि यस्तै पो हुने हो कि ।’

घटनापछिगाउँमा सशस्त्र र नेपाल प्रहरीको टोली परिचालित भए पनि मंगलबार साँझसम्म चितुवा फेला परेको छैन ।

प्रकाशित मिति: Mar 11, 2020

प्रतिक्रिया दिनुहोस्