Logo
१ जेष्ठ २०८१, मंगलबार
(March 10, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नदी तर्दा शुल्क तिर्नुपर्ने बाध्यता, कहिले हुन्छ अन्त्य ?

सुदुरपश्चिम प्रदेश स्थित कैलाली-कञ्चनपुरको सीमा भएर बग्ने मोहना नदीको पुलमा ओहोरदोहोर गर्दा शुल्क तिर्नुपर्ने बाध्यता रहेको छ । कैलाली र कञ्चनपुरको कृष्णपुर नगरपालिका राजघाट जोड्ने मोहना नदीमा निर्माणाधीन पुल नबन्दा स्थानीयवासीले पुलमा ओहोरदोहोर गर्दा शुल्क तिर्नुपर्ने बाध्यता बनेको हो ।

धनगढी उपमहानगरपालिका-३ चटकपुर र कञ्चनपुरको कृष्णपुर नगरपालिका-९ राजघाट बस्तीका नागरिकले मोहना नदी वारपार गर्दा वर्षौंदेखि पैसा तिर्दै आएको गुनासो गरेका छन् ।

दुई जिल्लाको सीमा भएर बग्ने नदीमा बनाएको काठको अस्थायी पुल तरेबापत स्थानीयवासीले वर्षौंदेखि पैसा तिर्दै आएको स्थानीयवासी कमल चौधरीले बताए ।

कैलालीको चटकपुर र कञ्चनपुरको राजघाट बस्तीबीच भएर बग्ने मोहना नदीमा स्थानीयवासीले ‘लन्डन ब्रिज’ नामको अस्थायी पुल बनाएका छन् ।

पुलमा ओहोरदोहोर गरेबापत प्रतिमोटरसाइकल रु २०, साइकल रु १०, प्रतिव्यक्ति रु १० र अटोरिक्साको रु ५० शुल्क कायम गरिएको छ । “नदीमा पुल नभएको भए स्थानीयवासीलाई ओहोरदोहोरमै समस्या प्रथ्र्यो”, पुलका चौकीदार सुन्दर चौधरीले भने, “त्यसैले पुल तर्दा गाउँलेले सधैँ रकम तिर्नुपर्ने बाध्यता छ ।” अस्थायी काठेपुलबाट दैनिक रु छ सयदेखि नौ सयसम्म रकम सङ्कलन हुँदै आएको छ ।

राजघाटका किसानले उत्पादन गरेको तरकारी बिक्री–वितरणका लागि धनगढीलगायत बजारमा जान पुलका कारण सहज भएको छ । पुल तर्नका लागि दैनिक रु ५० छुट्याउनुपर्ने बाध्यता रहेको स्थानीयवासीको भनाइ छ ।

वर्षैपिच्छे नयाँ अस्थायी पुल निर्माण गर्नुपर्ने स्थानीयवासीको भनाइ रहेको छ । यसरी हरेक वर्ष नयाँ अस्थायी पुल बनाउने र बर्सातमा नदीले बगाएर लैजाने गर्दछ ।

धनगढी र कञ्चनपुरको कृष्णपुर नगरपालिकाको राजघाट जोड्ने मोहनाको नदीमा निर्माणाधीन पुलको दुईपटक म्याद थप्दासमेत निर्माण कम्पनीले काममा बेवास्ता गरेपछि काम सम्पन्न हुन सकेको छैन ।पुल निर्माणको ठेक्का पाएको ठेकेदार कम्पनी एलाइड एडभेन्चरले निर्धारित समयमा पुलको काम नसकेपछि कम्पनी कारवाहीमा परेको छ ।

मोहना–राजघाट पुल निर्माणका लागि दोस्रोपटक थपिएको समय २०७६ साल असारमा सकिएको थियो । त्यति हुँदासमेत पुल निर्माणको काम ५५ प्रतिशतमात्र सम्पन्न भएको सडक डिभिजन साइट कार्यालयले जनाएको छ । तीन वर्षमा काम सक्ने गरी २०७१ सालमा एलाइड एडभेन्चरले रु ८ करोडमा पुल निर्माणको ठेक्का पाएको थियो ।

प्रकाशित मिति: Mar 10, 2020

प्रतिक्रिया दिनुहोस्