Logo
१ जेष्ठ २०८१, मंगलबार
(March 8, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारी निकायले बेवास्ता गर्दा झापाको आन्दाअस्पताल बन्द हुने अवस्थामा

प्रदेश नं १ स्थित झापामा रहेको आन्दा मेची अस्पताल गाँउपालिका र समुदायको  बेवास्ताका कारण बन्द हुने अवस्थामा पुगेको छ ।

जापान सरकारले ९८ लाख र मेचीनगर नगरपालिकाले ५० लाख रुपैयाँ अनुदान दिएपछि  झण्डै ११ वर्षअगाडि निर्माण भएको १५ शैय्याको आम्दा
अस्पताल निर्माण भएको थियो । अस्पताल स्थापनाका लागि स्थानीय वीरेन्द्र खनाल, नरेन्द्र खनाल र पद्मा खनालले जग्गा प्रदान गरेका थिए ।

आम्दा नेपाल, मेचीनगर नगरपालिका र मेची उद्योग वाणिज्य सङ्घको त्रिपक्षीय सम्झौताअनुसार विसं २०६५ मङ्सिर २० गते अस्पताल सञ्चालनमा आएको थियो ।

सम्झौतामा तिनवटै निकायकोे सहमतिमा अस्पताल सञ्चालन गर्ने भनिएको थियो । तर केही वर्ष नबित्दै समुदाय र सम्झौताका पक्षहरुको बेवास्ताले अस्पताल बन्द हुने अवस्थामा पुगेको छ ।

२ लाख जनसङ्ख्यालाई भरपर्दो स्वाथ्योपचार पुर्‍याउने यो अस्पतालको लक्ष्य थियो । साझेदारमध्येको मेची उद्योग वाणिज्य सङ्घका अध्यक्ष ऋषि तिमल्सिनाले पालिकाको उपेक्षाले अस्पताल रुग्ण अवस्थामा पुगेको बताउछन् ।

‘सहयोगहरु कटौती हुँदै गयो, त्यसैकारण अस्पतालले जनशक्ति व्यवस्थापन र आधुनिक उपकरणसहितको सेवा पुर्‍याउन नसकेको हो’, उनी भन्छन्, ‘भवन र जग्गालगायतको पर्याप्त भौतिक संरचना भएको हुँदा यसलाई फेरि व्यवस्थित गर्ने योजना अघि बढिरहेको छ ।’

स्थानीय सरकारको भूमिकामा रहेको मेचीनगर नगरपालिकाले अस्पताललाई वार्षिक अनुदान दिन कञ्जुस्याँइ गरेको उनको आरोप छ । अस्पतालका प्रशासन सहायक प्रमुख उज्वलतारा थापाले स्वास्थ्य जाँचका आधुनिक उपकरण र प्रयोगशालाका सामग्री नभएका कारण विरामी आउन छाडेको जानकारी दिए ।

केही समयदेखि एक मेडिकल अफिसरसहित ३ स्वास्थ्यकर्मीले अस्पताल धानिरहेको र विगतमा आफैँले सञ्चालन गर्दै आएको फार्मेसी हाल निजी क्षेत्रलाई दिइएको उनले जानकारी दिए ।

दाताबाट प्राप्त अस्पतालको एम्बुलेन्स ५ वर्षदेखि बिग्रिएर थन्किएको छ । मर्मत गरेर पनि नचल्ने स्थिति भएको हुँदा कवाडीको मूल्यमा बेच्नुपर्ने अवस्था आएको प्रशासन सहायक प्रमुख थापाले बताएका छन् ।

प्रकाशित मिति: Mar 8, 2020

प्रतिक्रिया दिनुहोस्