Logo
२ जेष्ठ २०८१, बुधबार
(March 6, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश १ मा विवाह तथा अन्य उपलक्ष्यमा गरिने भोजभतेर गर्न समेतमा रोक

प्रदेश १ स्थित जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लामा मानिसको भिड हुने किसिमका सबैखाले सभा, सम्मेलन, भोज र भेलामा रोक लगाएको छ ।

छिमेकी चीनपछि भारतमासमेत औपचारिक रुपमा प्रवेश गरेको कोरोना भाइरसबिरुद्ध पूर्व सचेतना स्वरुप जिल्ला प्रशासन कार्यालय इनरुवा सुनसरीले सो निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले सरकारले सार्वजनिक रुपमा विश्वभरी कोरोना भाइरसको खतरा बढेपछि भेला, सम्मेलन, सभालगायतका भिडभाड हुने कार्यक्रम नगर्न आवहन गरेकाले सुनसरी प्रशासनले त्यस खाले कार्यक्रम आयोजना गर्न नदिने बताए ।

प्रशासनले कोरोना भाइरसको जोखिमयुत्त खतरा बढेको भन्दै सार्वजनिक स्थानमा कुनै सभा सम्मेलन भेला तथा भिडभाड हुने कार्यक्रम गर्न रोक बताएको छ ।

गृह मन्त्रालयले यसका लागि छुट्टै परिपत्र जारी नगरेपनि स्वास्थ्य मन्त्रालय र परराष्ट्र मन्त्रालयमार्फत देशवासीहरुलाई अपिल गरिसकेको अवश्थामा जिल्ला प्रशासन कार्यालय सुनसरीले समेत धेरै मानिस भेला जम्मा हुने कार्यक्रम गर्न नदिने उनले स्पष्ट पारे ।

यसबीचमा सुनसरीको धरानमा रहेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले फागुन २४ गतेको लागि आयोजना गर्ने तयारी गरेको दीक्षान्त समारोह स्थगित गरिएको छ ।

विश्वभरी कोरोना भाइरसको त्रास बढे पछि सरकारले भेला, भोज, भीडभाड हुने कुनै पनि कार्यक्रम नगर्न निर्देशन जारी गरे पछि स्थगन गरिएको हो ।

प्रतिष्ठानका कार्यवाहक उपकुलपति प्राडा गुरुप्रसाद खनालले मञ्च व्यवस्थापन, विद्यार्थी तयारी, अतिथि निमन्त्रणालगायतका कामको सबै तयारी पुरा गरी सकेको अवश्थामा कोरोनाको खतरा बढेकाले कार्यक्रम स्थगन गरिएको जानकारी दिए ।

यसैगरी झापाको विर्तामोडमा नेकपाको प्रदेश १ स्तरीय प्रशिक्षण कार्यक्रम स्थगित भएको छ । प्रशिक्षणको लागि करिब १६ सयभन्दा बढी नेता कार्यकर्ता बिर्तामोडमा भेला भएका थिए ।

कोरोनाको प्रकोप फैलन नदिन नेपाल सरकारले नै ठुलो संख्यामा भेला हुने सभा सम्मेलन नगर्न आह्वान गरेकाले नेकपाको प्रदेश एकको प्रशिक्षण रोकिएको हो ।

त्यसैगरी इनरुवामा आयोजना गर्न लागिएको होली विशेष कार्यक्रमहरु पनि प्रभावित हुने देखिएको छ।

‘कोरोनाबाट आत्तिहाल्नुपर्ने स्थिति छैन’
प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले नोबेल कोरोना भाइरस (कोभिड–१९)बाट आत्तिहाल्नुपर्ने स्थिति नरहेको बताए ।

प्रदेशसभाको बिहिबार बसेको बैठकको शून्य समयमा उनले भाइरसको सङ्क्रमण द्रुतगतिमा हुने भएकाले सबैले सावधानी अपनाउनुपर्नेमा जोड दिए ।

मन्त्री घिमिरेले साबुन पानीले हात मिचिमिची धुन सुझाव दिँदै अब कसैसँग हात नमिलाउन र नमस्कार गर्न भन्दै भीडभाड, सार्वजनिकस्थल तथा विदेशबाट फर्केका मानिसबाट सावधान हुनुपर्नेमा जोड दिए ।

उनले प्रदेश नं १ मा कसैलाई पनि यो भाइरस नभेटिए भए पनि यसबाट बच्न यथोचित प्रबन्ध मिलाएको र प्रदेश नं १ का चार नाका इलामको पशुपतिनगर, झापाको काँकडभिट्ट, भद्रपुर र विराटनगरको रानीमा हेल्थ डेस्क राखेको जानकारी दिए।

उनले प्रदेशका छ वटा अस्पतालमा आइसोलेशन वार्ड बनाईएको जानकारी दिँदै नदीनालाको फोहर, अस्पतालको फोहरको उचित व्यवस्थापनमा विशेष ध्यान दिएको चर्चा गरे ।

मन्त्री घिमिरेले ‘प्रदेश नं १ को जनस्वास्थ्य सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६’ लाई दफावार छलफलका लागि सम्बन्धित समिति पठाइयोस् भनी प्रस्तुत गरेको प्रस्ताव पनि बहुमतले पारित भएको छ ।

प्रदेशसभाको बैठकमा विशेष समयमा नेपाली काँग्रेसका प्रमुख सचेतक केदार कार्कीले कोरोना भाइरसका विषय लिएर विश्व त्राहीमाम भइरहेको बेलामा प्रदेशमा कस्तो तयारी भइरहेको छ प्रश्न गरे ।

उनले सामाजिक विकास मन्त्रालयले प्रदेश नं १ को राजधानी सिङ्घीया नदीको मात्र फोहर सफा गरेर प्रदेशभरिका फोहर सफा नहुने भएकाले यसतर्फ पनि प्रदेश सरकारको ध्यान जानुपर्नेमा जोड दिए ।

प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम ९३ बमोजिम प्रदेश नं १ बालबालिकाको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६ माथिको सैद्धान्तिक छलफलले बिहिबार पनि निरन्तरता पाएको छ ।

सो छलफलमा प्रदेशसभा सदस्य ज्योति सुब्बा र राजकुमार ओझाले बालबालिकामा हुनसक्ने अपराधलाई नियन्त्रण गर्न विधेयकमा यथोचित प्रबन्ध हुनुपर्ने, कुपोषण, यौनजन्य हिंसाबाट मुक्त राख्न विधेयकले बोल्नुपर्ने, बालबालिको आधारभूत शिक्षा, श्रम शोषणको विरुद्धमा व्यवस्था हुनुपर्ने भन्दै विधेयकलाई सुदृढ एवं समृद्ध बनाउन विषयगत समितिमा लैजानुपर्ने माग गरे ।

प्रदेशसभाको बैठकमा शून्य समयमा बोल्दै सदस्य राधा थापाले प्रदेशसभामा बस्ने कुर्सी बसको जस्तो भएको र यसलाई व्यवस्थित गर्न प्रदेशसभाको ध्यानाकर्षण गराउँदै विकास निर्माणमा विनियोजित भएको रकम समयमै सम्बन्धित अड्डा पुग्नुपर्ने कुरामा जोड दिए । प्रदेशसभाको अर्को बैठक फागुन २३ गते दिउँसो १ बजे बस्ने सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिए ।

प्रकाशित मिति: Mar 6, 2020

प्रतिक्रिया दिनुहोस्