Logo
१६ बैशाख २०८१, आईतबार
(March 1, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोना भाइरसको जोखिम बढेको भन्दै महोत्सव र सभा-समारोह नगर्न सरकारको आह्‍वान

स्वास्थ्यमन्त्री भानुभक्त ढकालले तत्कालका लागि ठूला सभा, सम्मेलन, भोजभतेरसहितका कार्यक्रम नगर्न आह्वान गरेका छन्। चीनबाट फैलिएको कोरोना भाइरसको उच्च जोखिममा नेपाल पनि रहेको चेतावनी विश्‍व स्वास्थ्य संगठनले दिएपछि सरकारले सतर्कता अपनाउन थालेको छ।

स्वास्थ्यमन्त्री ढकालले  आइतवार मन्त्रालयमा पत्रकार सम्मेलन गरेर कोरोना भाइरसको जोखिम बढ्दै गएपछि सरकारले महोत्सव, सभा समारोह जस्ता भीडभाड हुने कार्य नगर्न आह्वान गरेको हो।

‘कोरोनाको जोखिम कम गर्न केही समयका लागि महोत्सव, सभा-समारोह जस्ता भिडभाड हुने कार्यक्रम नगर्न आमसर्वसाधारण र आयोजकहरुलाई आह्वान गर्दैछौँ’, ढकालले भने, ‘अफ्ठ्यारो अवस्थामा आएमा अन्तर्राष्ट्रिय हवाई उडान पनि रोकिनेछ।’

सरकारले काठमाडौंको चन्द्रागिरिमा गर्न लागिएको बहुप्रतिक्षित सगरमाथा सम्वाद कार्यक्रम पनि तत्काललाई स्थगित गर्ने मनस्थिति मा पुगेकोछ। ‘अप्ठ्यारो अवस्था आए सगरमाथा सम्वादसमेत तत्कालका लागि स्थगित हुनसक्छ’, उनले भने, ‘देशलाई विश्वसँग जोड्ने त्रिभुवन विमानस्थलमा स्वास्थ्य जाँचलाई अझै कडा बनाउँदैछौं।’

ढकालले त्रिभुवन विमानस्थलबाट बाहिरिने र भित्रिने दुवैको स्वास्थ्य जाँच गरिने बताए। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलन हुँदै भित्रिने सबैको यात्रुको अनिवार्य स्वास्थ्य परीक्षण गर्ने तयारी सरकार रहेको उनले बताए। अहिले त्रिभुवन विमानस्थलमा ६ वटा थरमल स्क्रयानर राखिएको उनले बताए ।

‘केही समय एयर्पोट पूरै बन्द गर्ने कि भन्‍नेबारे पनि छलफल भइरहेको छ’, उनले भने, ‘तर यसबारेमा निचोडमा पुगिसकेका छैनौँ।’ भक्तपुरको क्‍वारेन्टाइन यथावत स्वास्थ्यमन्त्रालयले चीनबाट ल्याइएका १७५ जनालाई घर पठाएपछि भक्तपुरस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा बनाइएको क्‍वारेन्टाइनलाई यथावत राख्‍ने भएको छ।

मन्त्री ढकालले चीनबाट ल्याइएका सबैमा कोरोना भाइरसको कुनैं लक्षण नदेखिएकाले केही दिनमा नै घर पठाउने जानकारी दिए। तर ती विद्यार्थी घर फर्किएपछि पनि उक्त क्‍वारेन्टाइनलाई भने तयारी अवस्थामा राखिने उनले बताए।

प्रकाशित मिति: Mar 1, 2020

प्रतिक्रिया दिनुहोस्