Logo
१५ चैत्र २०८०, बिहीबार
(February 23, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘परदेशी-२’ को शुभमुहूर्त : सकारात्मक परिवर्तनका लागि सन्देशमूलक चलचित्र

चलचित्र ‘परदेशी-२’ को शुभमुहूर्त गरिएको छ । शुक्रबार चलचित्रका प्रमुख कलाकारहरुको उपस्थितिमा वैदिक विधि अनुसार ललितपुरको कार्यविनायक मन्दिरमा पूजा अर्चना गरी चलचित्रको शुभसाइत गरिएको हो ।

कार्यविनायक मन्दिरमा पूजा सम्पन्न भए लगत्तै शुक्रबार नै दक्षिणकाली मन्दिरमा समेत पूजा गरिएको थियो । ‘गोर्खा पल्टन’ र ‘परदेशी’ जस्ता दुई सफल चलचित्रका लेखक र निर्देशक नारायण रायमाझीले आफ्नो तेस्रो चलचित्र ‘परदेशी-२’ को शुभमुहूर्त सम्पन्न गरेका हुन् ।

‘गोर्खा पल्टन’देखि नै नारायण रायमाझीसँग लगातार सहकार्य गर्दै आएका प्रोडक्शन म्यानेजर ईश्वर घिमिरेका अनुसार यस अघिका चलचित्रहरुको मुहूर्त पश्चात दक्षिणकालीमा पनि यसैगरी पूजा गरिंदै आएको थियो ।

‘परदेशी-२’ मुभिज डटकमको व्यानरमा निर्माण हुने चौथो चलचित्र हो । यसअघि यस व्यानरमा ‘कोही मेरो’, गोर्खा पल्टन’ र ‘परदेशी’ निर्माण भईसकेका छन् ।

‘परदेशी’ चलचित्र निर्माण गरिसकेपछि परदेशका अरु धेरै कथा-व्यथा पनि समेट्न पाए हुन्थ्यो भन्ने मनमा छटपटी भईरहेको बताउँदै ‘परदेशी-२’ यस्तै धेरै कथाहरु मध्येको एक कथा भएको कुरा चलचित्रका निर्देशक नारायण रायमाझीले जानकारी गराए ।

‘हामीले सुरुदेखि नै चलचित्र समाजको दर्पण हो भन्दै आएका हौं र सकारात्मक परिवर्तनका लागि सन्देशमूलक चलचित्र निर्माण गरिरहेका छौं ।’ रायमाझी भन्छन् । उनका अनुसार ‘परदेशी-२’ नेपाली गाउँबस्ती रित्तिएको कथा हो ।

नेपाली समाजमा बढ्दो परदेश मोहको कथा हो । सुनौलो भविष्यको सपना बोकेर परदेशिएका तमाम नेपाली युवा र उनीहरुको सङ्घर्षमय जीवनको कथा हो ।

बाध्यता या रहरले बिदेशिएका युवा र तिनका अभिभावकहरुले देखेको मीठो सपना अनि वास्तविक भोगाई र कठिनाईहरुको यथार्थ कथा हो । अनि मातृभूमिबाट टाढा गएपछि आफ्नो परिवार, समाज, उकाली ओराली र सिङ्गो देशको यादले सताएको कथा हो ।

नारायण रायमाझीद्वारा निर्देशित पहिलो चलचित्र ‘गोर्खा पल्टन’मा लाहुरे परिवारको बैभवताभित्रको कहालीलाग्दा पीडाहरुलाई यथार्थ रुपमा उजागर पारिएको थियो ।

यसैगरी रायमाझीको दोस्रो चलचित्र ‘परदेशी’ले भारतीय नाकाबन्दीका बाबजुद, अझ भनौं अधिकांश नेपालीहरुको चुलोमा आगो बल्न बन्द भएको अवस्थामा पनि अकल्पनीय सफलता हासिल गरेको थियो ।

दर्शकमा चलचित्र हेर्ने व्यग्रता यस्तो आश्चर्यलाग्दो थियो कि ! पहिलो दिन १२ बजेदेखि शो राखिएको भएपनि बिहानैदेखि दर्शक लाइनमा बसेपछि बाध्य भएर प्राविधिक प्रक्रिया पुर्‍याई शो चालु गर्नु परेको थियो ।

सङ्ख्यात्मक हिसाबले थोरै चलचित्र भएपनि गुणात्मक कामको कारणले गर्दा ठूलो लोकप्रियता हासिल गरेका रायमाझीको ‘परदेशी-२’ लाई सिङ्गो सिने नगरीले यतिबेला निक्कै चासोको साथमा नियालिरहेको छ ।

मुभिज डटकमको व्यानरमा निर्माण हुन लागेको ‘परदेशी-२’ मा राजेश वंशल र नारायण रायमाझी निर्माताको रुपमा रहने छन् भने प्रशान्त तामाङ, प्रकाश सपुत, केकी अधिकारी, वर्षा शिवाकोटी, नीर शाहलगायतका कलाकारको प्रमुख भूमिका रहने छ ।

प्रसिद्ध गीतकार समेत रहेका रमेश बि. जी.को कथा प्रसिद्ध गीतकार समेत रहेका रमेश बि. जी.को कथा /पटकथा, निर्देशक रायमाझीको पटकथा र संवाद रहेको यस चलचित्रमा रमेश पौडेल, सतिश चापागाईं, बीबी अनुरागी, नारायण रायमाझी, जय देवकोटा र प्रेमदेव गिरीका शव्द तथा बीबी अनुरागी र नारायण रायमाझीको सङ्गीत रहने छ भने प्रशान्त तामाङ, मिना निरौला, निशान भट्टराई, प्रताप दाश, नारायण रायमाझी, टिका पुन, देवी घर्ती, शान्तिश्री परियार र जय देवकोटाले स्वर दिने छन् ।

चलचित्रमा गोविन्द राई, रामजी लामिछाने र कुलमान नेपालीले नृत्य निर्देशन र अष्ट महर्जनले द्वन्द्व निर्देशन गर्ने छन् भने मान कृष्ण महर्जनले चलचित्र खिच्ने छन् । पोखरा, पाल्पा, काठमाडौं, भारतको गोरखपुर र अमेरिकामा छायाङ्कन हुने यो चलचित्रको लगभग दुई महिनामा सम्पूर्ण छायाङ्कन सकिने अनुमान गरिएको छ ।

प्रकाशित मिति: Feb 23, 2020

प्रतिक्रिया दिनुहोस्