बुधबार मध्यराति दुई जनालाई ठक्कर दिएर भागेको टिपर लुकाएर राखेको अवस्थामा भेटियो
काठमाडौं : कलंकीमा बुधबार मध्यराति दुई जनाको मृत्यु हुने गरी मोटरसाइकललाई ठक्कर दिएर भागेको टिपर नख्खु खोलाको पुल छेऊ चन्द्रसूर्य ग्यारेजमा लुकाएर राखेको अवस्थामा भेटिएको छ ।
कलंकीको अण्डरपासमा बल्खुबाट कलंकीतर्फ आइरहेको टिपरले सोही दिशातर्फ जाँदै गरेको प्रदेश २-०३००४ प ५५० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
ज्यान गुमाउनेमा रौतहटका हटहरिया गाउँपालिका-४ का १९ वर्षका राकेशकुमार चौधरी र कटहरिया-७ का २४ वर्षका मुन्ना चौधरी रहेका छन् । टिपरको ठक्करबाट गम्भीर घाइते भएका दुबैको उपचारका क्रममा त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको थियो ।
काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले टिपरलाई नियन्त्रणमा लिइएको बताए । उनले भने, ‘सीसी टीभी फुटेज र्र याडम चेकजाँचका क्रममा सम्भावित क्षेत्रमा खोजतलास गर्ने क्रममा बा४ख ८५७९ नम्बरको टिपर नियन्त्रणमा लिएका छौं ।’
उनका अनुसार सवारीधनी प्रहरीको सम्पर्कमा आइसकेका छन् । यद्यपि, चालक भने फरार छन् । उनको पनि खोजी भइरहेको बोगटीले बताए ।