Logo
७ बैशाख २०८१, शुक्रबार
(January 21, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डोटीका तीन गाउँपालिकामा भत्काइयो १०८ छाउगोठ

डोटी : प्रहरी तथा स्थानीयवासीको सहयोगमा यहाँका तीन गाउँपालिकामा १०८ छाउगोठ भत्काइएको छ ।

बडीकेदार, जोरायल तथा पूर्वीचौकी गाउँपालिकामा रहेका गोठ सोमबारसम्म भत्काइएको हो ।

सबैभन्दा बढी बडीकेदार गाउँपालिकाको वडा नं ३ को सिदुरेपानी, वडा नं १ र २ को बिपीनगर, बर्छैन, अलाडी, अल्याडी, लटाली, रिसेडी र बिठारा गााउँमा ९१, जोरायल गाउँपालिका-५ धुपारी गाउँमा ३ तथा पूर्वीचौकी गाउँपालिका-५ को काडामाडौँमा १४ गोठ भत्काइएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले जानकारी दिए ।

नौ स्थानीय तहमा प्रहरीको सक्रियता र जनप्रतिनिधिको रोहवरमा गोठ भत्काउने क्रम जारी छ । प्रहरीले गोठ भए नभएको अवस्थाका बारेमा अनुगमनसमेत गरिरहेको छ । अनुगमनका क्रममा ती तीन गाउँपालिकामा मात्रै ११३ छाउपडी गोठ रहेको जनाइएको छ ।

उनले भने, ‘तीन गाउँपालिकामा छाउगोठ भेटिएका छन्, छाउगोठ भत्काउने अभियान जारी छ ।’ गोठ भत्काउन छुट्टै प्रहरी टोली परिचालन गरिएको छ । अभियानमा स्थानीयवासी, जनप्रतिनिधि तथा विभिन्न सङ्घसंस्थाको सहभागिता रहँदै आएको छ ।

जिल्लालाई आगामी फागुन महिनाभित्र छाउपडी गोठमुक्त जिल्ला घोषणा गर्ने गरी छाउपडी गोठ भत्काउने अभियानलाई तीव्र पारिएको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिए ।

प्रकाशित मिति: Jan 21, 2020

प्रतिक्रिया दिनुहोस्