Logo
२२ भाद्र २०८१, शनिबार
(January 21, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुन गायब पारेको सन्दर्भमा सुन अनुगमनका कर्मचारीको बयान शुरू

सुन पसल अनुगमनका क्रममा परीक्षण गर्न ल्याइएको सुन गायब पारेको सन्दर्भमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिन थालेको छ । आयोगले पहिलो चरणअन्तर्गत वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका नायब सुब्बा दिलीप पौडेल र खरदार रामबहादुर थापासँग बयान लिएको छ ।

पौडेल र थापाले अघिल्लो आइतबार बयान दिएको विभागले जनाएको छ । अख्तियारले कर्मचारीहरू अनुगमनमा गएरनगएको, अनुगमनपछि कसरी सुन ल्याएको, सुनका गहना ल्याउँदा मुचुल्का तयार पारेको वा यत्तिकै ल्याएको विषयमा लिखित जवाफ मागेको छ । अनुगमन निरीक्षक र तत्कालीन निर्देशकहरूले परीक्षणपछि सुन स्टोरमा बुझाएको वा आफैं लिई गएको, परीक्षणपछि किन फिर्ता नगरकोलगायत प्रश्न पनि अख्तियारले गरेको छ । आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले पनि बयान लिने काम शुरू भएको जानकारी दिए ।

 

तत्कालीन वाणिज्य तथा आपूर्ति विभागले ०६९ देखि विभिन्न क्षेत्रका सुन पसल अनुगमन गरेको थियो । त्यस क्रममा विभागले परीक्षणका लागि लगेको नमुना सुन फिर्ता नगरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताउँदै आएको छ । ०६९ देखि विभागको महानिर्देशक भएर क्रमशस् नारायणप्रसाद बिडारी, शम्भु कोइराला, गोकुल धिताल, कुमार दाहालले काम गरेका थिए । अनुगमन भएका बेला अनुगमन शाखा निर्देशकमा लक्ष्मण श्रेष्ठ र हरिनारायण बेल्बासे थिए । श्रेष्ठले तत्कालीन महानिर्देशक कुमार दाहाललाई जानकारी नगराई सुन पसलमा समेत अनुगमन गरेका थिए ।

हाल श्रेष्ठ कृषि विभागमा छन् । कुमार दाहालपछि विभागको महानिर्देशक भएर योगेन्द्र गौचन आए । उनले अवकाश पाउने बेला सुनलगायत अन्यको फाइल खोज्न विभागका कानुन शाखा निर्देशक भगवान् श्रेष्ठको संयोजकत्वको छानबिन समिति गठन गरेका थिए । प्रतिवेदन बनाउने क्रममा लक्ष्मण श्रेष्ठले सुन फिर्ता गर्न आएका थिए । तर अनुसन्धानकै क्रममा रहेकाले अनुसन्धान अधिकृतहरूले सुन फिर्ता नलिन नमानेको कर्मचारीहरू बताउँछन् ।

ब्म्ख्भ्च्त्क्ष्क्भ्ःभ्ल्त्

अहिले नेत्र सुवेदी विभागको महानिर्देशक छन् । अख्तियारले चासो दिएपछि छानबिन समितिले तयार गरेको प्रतिवेदन सुवेदीले तालुक उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा बुझाएका छन् । विभाग स्रोतका अनुसार मन्त्रालयले पनि प्रतिवेदन अख्तियारमा बुझाएको छ । प्रतिवेदनका आधारमा अख्तियारले कर्मचारीसँग बयान लिएको हो । ‘अनुसन्धानकै विषय भएकाले कर्मचारीलाई बोलाएको छ । छर्लंग हुने किसिमले प्रतिवेदन बनाएका छौं,’ प्रतिवेदन निर्माणमा संलग्न विभागका शाखा अधिकृत निरोजकुमार खत्रीले भने । २१ व्यवसायीले सुनका गहना फिर्ता नपाएको महासंघको दाबी छ । महासंघले विभागमा पठाएको विवरणअनुसार इन्द्रचोकमा रहेको शाक्य ज्वेलर्सको १।३८ ग्रामको टप, १।३३ ग्रामको लकेट, भेडासिंको न्यु कुमारी ज्वेलर्स एन्ड ह्यान्डिक्राफ्टको ०।९० ग्राम र ०।५६ ग्रामको टप फिर्ता आएको छैन ।

कालीमाटीको शुभश्री ज्वेलर्सले २।२० ग्रामको औंठी, वटुको सूर्यबहादुर शाक्य एन्ड सन्सको ११ ग्रामको चुरा र ८ ग्रामको झुम्का, कास्कीमा रहेको दि युनाइटेड गोल्ड मार्टको १।९२ ग्रामको डाइस फेन्सी औंठी फिर्ता नपाएको महासंघको विवरण छ । कास्कीकै गोरखा एन्ड वराह ज्वेलरी इन्डस्ट्रिज प्रालिको १।३८ ग्रामको लकेट र दलबहादुर एन्ड सन सुनचाँदी पसलको २।९८ ग्रामको क्वाइन औंठी फिर्ता नभएको विवरण महासंघले विभागमा पेस गरेको छ । पोखरास्थित अर्जुन पुग्दीभुम्दी सुनचाँदी पसलको ३।८० ग्रामको फेन्सी औंठी, फेवाताल सन्तोष सुनचाँदी पसलको २ ग्रामका १ जोर टप, स्याङ्जाको कमल सुनचाँदी पसलको ०।५५० ग्रामको नाकेफुली १ थान र सुवास सुनचाँदी पसलको ०।६४० ग्रामको घोप्टे टप १ थान फिर्ता नपाएको महासंघको विवरण छ । यीबाहेक विभिन्न जिल्लामा अनुगमनबाट संकलित नमुना पनि फिर्ता नभएको महासंघको भनाइ छ । कान्तिपुर दैनिकमा खबर छ ।

प्रकाशित मिति: Jan 21, 2020

प्रतिक्रिया दिनुहोस्