Logo
१२ बैशाख २०८१, बुधबार
(January 17, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कर्णालीमा फेरि वर्षा र भारी हिमपात, चिसोले स्थानीयको जनजीवन कष्टकर

सुर्खेत : कर्णालीमा फेरि हिमपात र वर्षा भएको छ । यसवर्ष यस क्षेत्रमा हिमपात र वर्षा भएको यो सातौ पटक हो ।

हिमपातले हिमाली जनजीवन बढी प्रभावित बनेको छ । हुम्ला, डोल्पा, मुगु, जुम्लाका नागरिकको दैनिकी निकै कष्टकर बनेको यहाँका स्थानीय बासिन्दा जनाएका छन् । जाजरकोट, रुकुमपश्चिम र कालीकोटको उच्च भागमा पनि अत्यधिक चिसो बढेको छ ।

वर्षा र हिमपातसँगै बढेको चिसोका कारण हुम्ला, डोल्पा, मुगु र जुम्लाका धारा र खोलाहरुमा समेत पानी जमेको छ ।

जुम्ला चन्दननाथ-९ का स्थानीय धर्म्सिंह कठायतले बरफ जमेर धारा बन्द हुँदा खानेपानी जुगाड गर्न धौ-धौ भएको बताए ।

“धारोबाट पानी पग्लाउन पानी तताएर पाइपमा खन्याउनुपर्छ तर पानीको विकल्प हिउँ प्रयोग गर्ने गरेका छौँ”, उनले भने । सिलिण्डरको ग्याँससमेत चिसोले जम्न थालेपछि खान पकाउन पनि हम्यहम्य भएको छ ।

वर्षासँगै विद्युत्का पोल भाँचिने तथा तार चुँडिने समस्या बढेको त्यहाँका स्थानीयले जनाएका छन् ।

जिल्ला प्रशासन कार्यालय हुम्लाका सहायक प्रमुख अधिकारी दत्तराज हमालले हिमपातले हुम्लाका नागरिकको दैनिकी निकै सकसपूर्ण बन्दै गएको जानकारी दिए ।

उनका अनुसार हिमपातले साविकको कर्णालीमा मोबाइल तथा टेलिफोन सेवा पनि अवरुद्ध भएको छ ।

लामो तथा छोटो दूरीका यातायात सञ्चालन हुन सकेका छैनन् । हवाई यातायात दुई दिनदेखि ठप्प छ । खाद्य तथा अन्य वस्तुको आयात रोकिँदा हिमाली बासिन्दाको दैनिकी समस्याग्रस्त बन्दै गएको छ ।

चिसोले सुर्खेत, दैलेख सल्यान र रुकुम पश्चिमका शैक्षिक संस्था पनि प्रभावित भएका छन् ।

सरकारी कामकाज नियमित कामकाज हुन सकेको छैन । हिमाली जिल्लामा बढेको चिसोका कारण सेवाग्रहीले सेवा लिन पाएका छैनन् । कर्मचारीले भने आगो बालेर कार्यालय खोलेका छन् ।

प्रकाशित मिति: Jan 17, 2020

प्रतिक्रिया दिनुहोस्