Logo
४ आश्विन २०८१, शुक्रबार
(January 16, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जलाउन लगिएको शव प्रहरीको नियन्त्रणमा, पोस्टमार्टमका लागि पुर्‍याइयो अस्पताल

प्रदेश १ को राजधानी विराटनगरस्थित जिल्ला प्रहरी कार्यालय मोरङले विराटनगरस्थित सिंघिया खोलाघाटमा जलाउन लागेको महिलाको शव नियन्त्रणमा लिएको छ।

विहीबार महानगरपालिका ८ भलुवाइकी २८ वर्षीया प्रेमदेवी साहको शव जलाउने क्रममा प्रहरीले नियन्त्रणमा लिएको मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए।

अधिकारीका अनुसार मृतकका दाजु राजु साहले प्रहरी समक्ष घटना शंकास्पद रहेको जनाउदै प्रहरीलाई खबर गरेका थिए। प्रहरी उपरिक्षक अधिकारीले शव जलाउने क्रममा घाँटीमा डाम देखिएपछि पोस्टमार्टमका लागि नियन्त्रणमा लिएको बताए।

घाटमा पुर्‍याएर चितामा राखिसकेको शव प्रहरीले पोस्टमार्टमका लागि विराटनगरको कोशी अस्पतालमा राखेको जनाएको छ। मृतकका दाजु साहले विहान करिब ५ बजे बहिनी प्रेमदेवीको निधनको खबर पाएको बताए।

बहिनी केही समयदेखि विरामी अवस्थामा रहेकी थिइन् तथापि हामीले बराह क्षेत्र नगरपालिकास्थित घरमा उपचार गराएर फर्काएका थियौ, दाजु साहले भने।

हाल प्रहरीले शंकास्पद देखिएको घटनाको अनुसन्धान सुरु गरेको छ। सो क्रममा १२ वर्षअघि मागि विवाह गरेका मृतकका श्रीमान गोविन्द साहलाई पनि नियन्त्रणमा लिएको छ। साह परिवारको १० र ८ वर्षका दुई छोरा छन्।

शव नियन्त्रणका लागि हाटखोलास्थित वडा प्रहरी कार्यालयबाट प्रहरी नायब निरिक्षक मनोज अधिकारी र जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी निरिक्षक रामबहादुर ढकाल नेतृत्वको अलग–अलग टोली सिंघियाघाटमा पुगेको थियो।

त्यसैगरी, मृतकका श्रीमान् गोविन्दले प्रेमदेवी केही समयदेखि मानसिक बिरामी रहेको जानकारी दिए। उनले भने ‘मृतकले यसअघि पनि सलले पासो लगाएर आत्महत्याको प्रयास गरेकी थिइन।’ करिब पाँच महिनाअघिको सो घटनाको डाम घाँटीमा रहेको उनको भनाइ छ।

प्रकाशित मिति: Jan 16, 2020

प्रतिक्रिया दिनुहोस्