Logo
१६ चैत्र २०८०, शुक्रबार
(January 10, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

क्रसर उद्योगी विपिन महतो र स्थानीय नगर प्रमुखको मिलिमतोमा दिलिप महताको हत्या

प्रदेश २ स्थित धनुषा जिल्लाको मिथिला नगरपालिका वडा नं. ५ श्रीपुर घर भएका २४ वर्षीय दिलिप कुमार महतोको गाँउ यतिबेला पुरै शोकमग्न छ ।

अवैध उत्खनन बिरुद्ध सामाजिक अभियान्ता समेत रहेका उनको आज बिहान ट्रकबाट किचिएर मृत्यू भएको हो । उनको मृत्यूपछि गाउँका आफन्त र स्थानीय शोकमग्‍न छन् भने पूरै गाउँ शोकमा डुबेको छ।

दिलिप कुमार महतो

भारत स्थित मध्यप्रदेशको भोपालमा मेकेनिकल इन्जिनियरिङ्गमा अध्ययनरत महतो पहिलो जनवरीको विदामा आफ्नो घर आएका थिए।

सामाजिक कार्यमा अग्रसर रहेका दिलिपको मृत्युले उनका परिवारमा मात्र नभइ अहिले पुरै गाउँमै शोक छाएको छ । उनको हत्या पछि स्थानीयहरुले प्रशासन र स्थानीय सरकारविरुद्ध आक्रोश व्‍यक्त गरिरहेका छन्।

इन्जिनियरिङ्गको अन्तिम सेमेस्टरमा अध्ययनरत रहेका दिलिप नयाँ वर्ष आफ्नो घरमै मनाउन आएका थिए तर यो नयाँ वर्ष उनको लागि अन्तिम वर्षको रुपमा परिणत भयो।

स्नातक स्तरको अध्ययन गरिरहेका दिलिप पहिलादेखि नै सामाजिक कार्यमा लाग्ने गरेकोले उनि विदामा घर आउँदा सामाजिक कार्यमा लाग्ने गर्थे र यही सामाजिक कार्य उनको जिवनको लागि काल नै बन्‍न पुग्यो।

धनुषा जिल्लाको मिथिला नगरपालिका वडा नं. ५ श्रीपुर घर भएका २४ वर्षिय दिलिपको गाउँ नजिकै रहेको खोलामा भइ रहेको अवैध उत्खनन् विरुद्ध सामाजिक रुपमै अभियान चलाएका थिए।

यही क्रममा शुक्रवार पनि भईरहेको अवैध उत्खननलाई रोक्न दिलिप विहान करिब ४ बजेको समयमा आफ्नो साथी रोशन यादवसँग नदिमा पुगेका थिए। तर दिलिप उत्खननलाई रोक्न जाँदा उनको हत्या भएको खबर मात्र आयो।

दिलिपका बहिनी लक्ष्मी कुमारी महतोले दाइ समाजमा रहेका बेथितिविरुद्ध आवाज उठाउँदै आएकाले क्रसर उद्योगीहरुले हत्या गरेको आरोप लगाएकी छिन्।

लक्ष्मीका अनुसार क्रसर उद्योगी विपिन महतो, स्थानीय प्रशासन, स्थानीय जनप्रतिनिधि, नगर प्रमुखको मिलिमतोमा हत्या गरेको हो। ‘विपिनले पहिला पनि बुवालाई भनेका थिए छोरालाई सम्हालिहाल नत्र उसलाई मारी दिन्छु ।’

लक्ष्मीले भनिन् ‘विपिन अहिले भागेको छ। त्यसको क्रसरमा जाँदा ऊ त्यहाँ छैन। आफ्नो घरमा पनि छैन।’ ‘दिलीपसँगै क्रसर उद्योगहरुको अवैध उत्खननविरुद्ध आवाज उठाउँदै आएका कान्छी आमा (मौसी)का छोरा रजनिश कुमार महतोले दाइसँगै गएका रोशन नभागेको भए उनी पनि हत्याको सिकार भइसकेका हुन्थे। उनले आँसु पुच्दै भनिन्।

रोशनले नै दिलिपको हत्या भएको खबर गाउँमा फैलाएका थिए । रजनीशले भने, ‘दाइलाई पहिलेदेखि नै धम्की आइरहेको थियो कि आफ्नो काम बन्द गर नत्र ढाल दिन्छु।’ दिलीपका साथी अहिले रोशन प्रहरीको नियन्त्रणमा रहेको छ भने टिपर चालक पनि प्रहरीको नियन्त्रणमा रहेको छ।

यता ईलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक रामकुमार यादवका अनुसार शवको अवस्था हेर्दा हत्या गरिएको जस्तो रहेको बताए भने जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक रमेश कुमार बस्नेतले घटनाको अनुसन्धानई भइरहेको बताए।

दिलिपको मृत्युको खबर गाउँमा फैलिएपछि दिलिपका बहिनी लक्ष्मी कमारी महतो, बुवा रामजीवन महतो, वडाध्यक्ष श्यामबाबु यादव लगायत स्थानीयवासीहरु घटना स्थलमा पुगेका थिए।

तर घटना स्थल पुगेका प्रहरी प्रशासनले विना कुनै मुचुल्का शव उठाएर लगेको परिवारजनले आरोप लगाएका छन्।

वडा नं. ५ का वडाध्यक्ष श्यामबावु महतोको सहमति पछि दिलीपको शव पोस्टमार्टमका लागि जनकपुरधामस्थि प्रादेशिक अस्पतालमा ल्याइयो।

दिलीपको शव उठाइएपनि परिवारका सदस्यहरुले आफूहरुको सहमति तथा मुचुल्का बिना नै शव घटनास्थलबाट लगिएको आरोप लगाएका छन्।

यता वडाध्यक्ष श्यामबाबु यादवले मुचुल्का बिना नै शव उठाइएको बताए। उनले गाउँको होनहार युवाको हत्या भएको खबरले दुखित बनाएकोले मस्तिष्क काम नगरेकोले विना मुचुल्का शव उठाउन दिएको बताए।

तर मिथिला नगरपालिकाका नगर प्रमुख हरिनारायण महतोले यस घटना सम्बन्धमा कुनै प्रतिक्रिया दिएनन्।

प्रमुख महतोसँग प्रतिक्रिया लिन खोज्दा उनले भने, ‘घरको भान्सामा के खाना पाकिरहेको छ त्यो घरका सदस्यलाई थाहा हुँदैन भने नगरमा के भईरहेको छ भन्ने कुरो मलाई कसरी थाहा हुन्छ।’

परिवारजनले शवलाई विना कुनै मुचुल्का प्रादेशिक अस्पताल पठाएकोले शव उठाउनुको कारण थाहा नभएसम्म शव नबुझने बताए।

 

प्रकाशित मिति: Jan 10, 2020

प्रतिक्रिया दिनुहोस्