Logo
२२ श्रावन २०७७
(January 8, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तराईका जिल्लामा माघेसङ्क्रान्ति अर्थात ‘तिलासक्रान्त’को चहलपहल

पुस महिनाको अन्त्यसँगै माघे सङ्क्रान्ति अर्थात ‘तिलासक्रान्त’ पर्वको चहलपहल शुरु भएको छ । मध्यपूर्वी तराई क्षेत्रमा तिलासक्रान्तको रूपमा माघे सङ्क्रान्तिका दिन मनाइने यो पर्व बारासहित प्रदेश नम्बर २ का सबै जिल्लामा केही दिन पहिले नै तयारी थालिएपछि जताततै चहलपहल शुरु भएको छ ।

खासगरी तराईका जिल्लाका साथै मिथिला क्षेत्रमा माघेसङ्क्रान्ति अर्थात तिलासङ्क्रान्त पर्वमा तिल, मुरही र चिउरालाई (सक्खर मिलाएर बनाइएका लड्डु) खाने/खुवाउने प्रचलन रहेको छ । आदिवासी थारु, दनुवार, बातर र मुसहर समुदायको यो खास पर्व हो ।

यी जाति वा समुदाय केही साता पहिलेदेखि नै ‘तिलासङ्क्रान्ति’ का लागि सामानको जोहो गर्न लाग्ने गरेका छन् ।

मिथिलाञ्चलमा यो पर्वको समयमा घरमा छोरीचेली/ज्वाइँचेला, भाञ्जाभाञ्जी र नातिनातिना सबै बोलाउने र रमाइलोका साथ यो पर्व मनाउने गरिन्छ ।

मिथिलाञ्चलका अन्य समुदायमा यस पर्वमा साकाहारी परिकारकै चलन रहे पनि थारु, दनुवार, मुसहर र बातर समुदायमा भने आआफ्नोे परम्पराअनुसार खसी, कुखुरा, हाँस र सँुगुरको मासु खाने/खुवाउने परम्परा रहेको छ ।

आउनै लागेको तिलासङ्क्रान्तको तयारी अन्य बस्तीमा भन्दा थारु बस्तीमा विशेष देखिएको छ । थारुले पर्वका लागि खसी, कुखुरा र हाँसको व्यवस्था गरिसकेका छन् ।

मासुको व्यवस्थाबाहेक तिल, चिउरा र मुरही एवं छोराछोरीलाई नयाँ लुगाको प्रबन्ध गर्नुपर्ने परम्पराले यो पर्व आफ्नोे समुदायका लागि खास र अलि खर्चिलो हुने गरेको थारु अगुवा जयनारायण थारुले बताए ।

वर्षमा एक पटक आउने चाड भए पनि हुनेखानेलाई मात्र चाडको रौनकले छोएको अर्का भुमे मुसहरको गुनासो छ ।

“हामी गरिबले भने पहिले नै चाडको सरसामानको व्यवस्था गर्नुपर्छ”, उनको भनाइ छ । तिलासङ्क्रान्त नजिकिएसँगै मिथिलाका बस्तीमा तिल कुट्ने, केलाउने र छाट्ने व्यस्तता बढेको छ । त्यसैगरी मुरही बनाउने र चिउरा कुट्ने चटारो पनि त्यतिकै देखिन्छ ।

पर्वका लागि बजारमा तिल, चिउरा र मुरही अहिलेदेखि नै भरिभराउ देखिएका छन् । यसबाहेक पर्वको सामान छोरीचेली र आफ्ना मितलाई कोसेलीस्वरुप पठाउने अनिवार्यजस्तै परम्पराले यो पर्वको तयारी मिथिलाञ्चलका लागि खास पर्व र महत्वको रहने गरेको छ ।

माघेसङ्क्रान्ति आएपछि तरुल खन्ने र बजारमा लगेर बेच्ने किसान पनि खुशी भएका छन् । आफ्नो खेतमा लगाएको तरुलले अहिले गत वर्षको तुलनामा निकै राम्रो मूल्य पाएपछि किसान खुशी भएका छन् ।

गएको वर्ष तरुलको मूल्य रु ३० किलोका दरले बिक्री वितरण भएको थियो भने अहिले प्रतिकिलो रु ५० देखि ८० सम्ममा बिक्री वितरण भइरहेको छ ।

जङ्गल नजिकै भएका कारण निजगढ नगरपालिकाअन्तर्गत रहेको साविकको रतनपुरी गाविसका स्थानीयले वन तरुल बेच्ने गरेका छन् ।

काठमाडौँसम्म पु¥याएर बेच्ने गरेको स्थानीय रमण घिमिरेले बताए । अहिले वन तरुलको मूल्य बजारमा रु १५० रहेको छ ।

प्रकाशित मिति: २३ पुष २०७६, बुधबार १२:५१

प्रतिक्रिया दिनुहोस्