Logo
३१ भाद्र २०८१, सोमबार
(January 8, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बलात्कृत युवतीले गाउँ छाडेपछि गाउँलेले खुवाए बलात्कारीलाई भोज

‘मजन्मिँदा हाम्रो घरको आर्थिक अवस्था अहिलेको जस्तै हुन्थ्यो भने अब्बाले मलाई स्कुल पठाउनुहुन्थ्यो,’ घरभन्दा निकै पर काठमाडौं सहरमा बसेर बुबाको न्यानो मायाबारे सुनाउँदा उनको आँखाबाट तातो आँसु बगिरहन्छ । त्यतिखेरको अवस्था राम्रो थिएन, घरकी जेठी छोरी उनले पढ्न पाइनन् । नेपालगन्ज वनघुस्राकी २२ वर्षीया नग्मा ९परिवर्तित नाम० को पढ्ने रहर त्यत्तिकै हरायो ।

उनीमुनिका बहिनी र भाइ त अहिले स्कुल जान्छन् । उमेरले १८ वर्ष टेक्दाटेक्दै चार वर्षअघि उनको वनघुस्रामै बिहे भयो । ‘अगलबगलमै छ मेरो माइती र घर,’ नग्मा सुनाउँछिन् । २६ जनाको ठूलो परिवारमा एउटै चुलोचौका चलाउन असहज भएपछि नग्मा र उनका श्रीमान्ले अलग भान्सा गर्न थाले । खुब खुसी देखिन्थ्यो यो जोडी ।

 

श्रीमान्ले माइतीकै डोजर चलाउँथे, उनी घरमै । जिन्दगीसँग कुनै गुनासो थिएन । न त गुनासो थियो परिवार, आफन्त र समाजसित । एउटै कुरा स्कुल गएर पढ्न नपाएको थकथकी भने मनमै थियो, अहिले पनि छ ।

गत कात्तिक १३ गते नग्मा आँखा जँचाउन श्रीमान्सँगै फुलटेक्रा आँखा अस्पताल पुगिन् । दिउँसो १ बजेतिर आँखा जाँचिसकेपछि उनका श्रीमान् नेपालगन्ज गए, उनी घर । अस्पताल जाँदा लगाएको बुर्का खोलिसकेकी पनि थिइनन् । दुई जना चिनजानकै मान्छे उनको कोठाभित्र छिरे । उनी घरमा कोही पनि छैनन्, किन आएको भनेर सोध्दैथिइन् । ती दुई पुरुषको जवाफ आइहाल्यो, ‘कोही नभएकाले त हामी आएका हौं ।’ स्थानीय दुई पुरुषहरू निजामुद्दिन साई र मुबारक नाउले घरमा भएको सबै गरगहना र नगद मागे । नदिए जे पनि गर्न सक्ने धम्की दिए । उनले दराजमा भएको नगद र गरगहना सुम्पिइन् । ‘यतिमात्रै लिएर जाँदा यसले प्रहरीमा उजुरी गर्न सक्छे,’ उनीहरूको सरसल्लाह थियो, ‘बरु यसलाई नै लिएर जाऔं, सबै काम उतै गरौं ।’

नग्माको ढुकढुकी झन्झन् बढ्दै गयो । साई र नाउले संकेत गरेको त्यो उतै भारतको रुपैडिया रहेछ, उनीहरूले मोटरसाइकलको बीचमा नग्मालाई राखे । पिप्रहवा गाउँ हुँदै रुपैडिया र रुपैडियाबाट अरू दुई पुरुषले दिल्ली पुर्‍याए । रुपैडिया हुँदै दिल्ली पुग्दासम्मको घटना उनको स्मरणमा छैन । किनभने उनीहरूले दिएको बिस्कुट र जुस खाएपछि नग्मा बेहोस भएकी थिइन् । उनी जब होसमा आइन्, ती दुई पुरुषले आफूलाई निर्वस्त्र पारेर खिचेको भिडियो देखिन् । आफूहरूले भनेझैं नगरे भिडियो सार्वजनिक गरिदिने धम्की ती पुरुषहरूले दिइरहेका थिए । नग्मालाई ‘इज्जत’ को डर लाग्यो । उनी ती पुरुषले जसोजसो भन्छन्, त्यसै गर्दै गइन् । त्यतिन्जेलसम्म नग्मालाई उनका गाउँले निजामुद्दिन र मुबारकले एक लाख भारतीय रुपैयाँमा बेचिसकेका थिए । ती अन्जान दुई पुरुषले उनलाई एकजना महिलामात्रै भएको नयाँदिल्लीको एउटा कोठामा पुर्‍याए । पालैपालो बलात्कार गरे । त्यतिखेर उनीहरूले नजामुद्दिनसँग गरेको कुराकानी अहिले पनि उनको दिमागमा झनझनाइरहन्छ । ‘उसको घरमा फिरौतीको कुरा भइरहेको छ, मिल्छ कि मिल्दैन तर अहिले नै त्यसै नछोड्नू,’ यताबाट फोनमा गएको आवाज उनले प्रस्ट सुनिन् । यो कुरा जिल्ला प्रहरी कार्यालय नेपालगन्जले गरेको कल डिटेल्स अनुसन्धानले पुष्टि गरिसकेको छ । त्यतिखेर उनले जे भोगिन्, अहिलेको बयानबाट अनुमान गर्न सकिँदैन । ती दुई पुरुषले उनलाई कोठामै छाडे, बाहिरिए ।

 

सायद नग्मा यही मौकाको प्रतीक्षामा थिइन्, सायद ‘अल्लाह’ उनकै वरिपरि थिए । उनले ती महिलालाई हारगुहार गरेर मोबाइल मागिन् र घरमा फोन गरिन् । उनको ‘अब्बा’ सँग कुरा भयो । अब्बाले दिल्लीमै रहेका आफन्तलाई फोन गरे । उनी दिल्ली पुगेको चार दिनपछि जिन्दगीको सबैभन्दा कठिन ठक्कर खाएर कात्तिक १७ गते वनघुस्रास्थित घरमा फर्किइन् ।

यता उनका अम्मीअब्बा, भाइबहिनी, श्रीमान् र सासूससुराको बेचैनी उनी फर्किएपछि कम भयो । गाउँलेले प्रहरीमा जाहेरी दिन प्रेरित गरे । परिवारले न्यायको बाटो खोज्यो, कात्तिक १८ गते उजुरी बोकेर यो परिवार जिल्ला प्रहरी कार्यालय बाँके पुग्यो ।

उनलाई बेचेर गाउँ फर्किवरी निर्बाध घुमिरहेका निजामुद्दिन र मुबारकलाई प्रहरीले नियन्त्रणमा लियो । नग्माको हुटहुटी शान्त भयो । उजुरी बोकेर उनीहरू जिल्ला अदालत पुगे ।

जिल्ला न्यायाधीश रामप्रसाद बस्यालले गरेको आदेशमा निजामुद्दिन र मुबारक दुवैलाई पुर्पक्षका लागि थुनामा पठाउनुपर्ने उल्लेख छ । त्यसको आधारका रूपमा नग्मा बेचिएको, बेचिनुअघि उनलाई आरोपितद्वयले अपहरण गरेको उल्लेख छ । बेच्न लैजानुअघि नग्माको घरमा उनीहरूले डकैती पनि गरेका थिए । प्रहरीले अनुसन्धान गर्दा घटनाको समयमा आरोपितहरू घटनास्थलमा भएको मोबाइलको लोकेसन ट्रेसबाट पुष्टि भएको थियो । अर्कोतर्फ पीडित स्वयंले आरोपितहरूलाई किटेकी थिइन् ।

जिल्ला अदालतको यो गत मंसिर १७ गतेको आदेश थियो । न्याय सही ट्र्याकमा गइरहेको थियो । नग्मा र उनको परिवारलाई अदालतमाथि भरोसा बढिरहेको थियो । कात्तिक १३ देखि १७ गतेसम्मको त्यो अँध्यारो दिन बिर्सिन नग्मालाई परिवारका सदस्यहरूले भरपुर साथ दिइरहेका थिए । घटनाको मिसिल र पीडकको अपराधलाई आधार मान्ने हो भने यो कम्तीमा १५ वर्ष जेल सजाय हुने घटना हो । तर जिल्ला अदालतको आदेशविरुद्ध पीडक पक्ष उच्च अदालत तुल्सीपुरको नेपालगन्ज इजलासमा पुग्यो ।

काठमाडौं टेकेको तेस्रो दिन भइसक्यो उनले घरपरिवारसँग फोनमा कुरा गर्नै सकेकी छैनन् । ‘मैले फोन गर्नेबित्तिकै अम्मी रोएको रोयै गर्नुहुन्छ, उनीहरू छुटेपछि अब्बाको प्रेसर बढेको छ,’ नग्माले भनिन्, ‘जन्मेदेखि अहिलेसम्म मैले गाउँ छाडेकै थिइनँ, मलाई कहिले गाउँ जानुजस्तो भएको छ ।’ दुःखको कुरा यही छ कि, उनलाई यातना दिने पीडक गाउँमा निर्बाध घुमिरहेका छन्, पीडकका आफन्तले अरू पनि छोरीबुहारी बेचेर गुजारा चलाउने खुलेआम धम्की दिइरहेका छन् । तर नग्मा विस्थापित भइन् ।

दुःख त नग्मालाई श्रीमान्सँग पनि लागेको छ किनभने उच्च अदालतको आदेश आउनेबित्तिकै उनी टाढिए । गाउँ छउन्जेल के छ कसो छ भनेर सोध्दा पनि सोधेनन्, काठमाडौं आएपछि फोनसम्म पनि गरेका छैनन् । ठ्याक्कै गाउँले र छरछिमेकीझैं गरी टाढिए उनका श्रीमान् । ‘मैले जानाजान केही गल्ती गरेकी छैन,’ नग्मा सुस्ताउँछिन्, ‘मेरो मन त पहिले जस्तो थियो त्यस्तै नै छ, थाहा छैन उसको दिलमा के छ १’ कान्तिपुर दैनिकमा खबर छ ।

प्रकाशित मिति: Jan 8, 2020

प्रतिक्रिया दिनुहोस्