घरजग्गा कारोबारी र सुन कारोबारीमाथि सम्पत्ति शुद्धीकरणको अनुसन्धान गर्ने
सम्पत्ति शुद्धीकरण विभागले घरजग्गा कारोबारी र सुन कारोबारीमाथि सम्पत्ति शुद्धीकरणको अनुसन्धान गर्ने भएको छ । दुवै पेसा व्यवसायमा संलग्नको सम्पत्तिमा अस्वाभाविक वृद्धि भएको भन्दै सम्पत्ति शुद्धीकरणले अनुसन्धान गर्न लागेको हो । घरजग्गा व्यवसायीमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान गर्न सक्ने गरी सरकारले भूमि व्यवस्थापन तथा अभिलेख विभागलाई नियमनकारी निकाय तोकेको छ ।
नेपालमा ठूलो मात्रामा घरजग्गा खरिद–बिक्री हुने र यसमा अर्बौँको कारोबार भए पनि त्यसमा सम्पत्ति शुद्धीकरण कानुनअन्तर्गत रहेर नियमन गर्ने निश्चित निकाय तोकिएको थिएन । नियमनकारी निकाय तोकिएसँगै सम्बन्धित नियामकले सूचक संस्थाको नियमन गर्न सक्नेछ । यसको अर्थ भूमि व्यवस्थापन विभागले सम्पत्ति शुद्धीकरणसम्बन्धी मौजुदा कानुनअन्तर्गत घरजग्गा खरिद–बिक्री व्यवसायीमाथि नियमन गर्नेछ ।
एक वर्षअघि नै सरकारले सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धमा वित्तीय संस्था तथा गैरवित्तीय व्यवसाय तथा पेसाकर्मीका लागि नियमनकारी निकाय तोकेको थियो । २५ कात्तिक ०७५ मा बसेको मन्त्रिपरिषद् बैठकले भूमि व्यवस्थापनसहित विभिन्न सातवटा नियामक निकाय तोक्ने निर्णय गरेको थियो ।
सो निर्णयको सूचना प्रकाशित गर्ने निर्णय गत ७ मंसिरमा बसेको मन्त्रिपरिषद्ले गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता यमलाल भुसालका अनुसार सरकारले थप विभिन्न सातवटा निकायलाई सम्पत्ति शुद्धीकरणअन्तर्गत सूचक संस्थाको नियमन गर्ने गरी नियमनकारी निकाय तोकेको हो ।
क्यासिनोदेखि कानुन व्यवसायीसम्मको नियामक तोकियो
सरकारले क्यासिनोदेखि कानुन व्यवसायीसम्मको नियामक तोकेको छ । स्वीकृति अवकाश कोष र बहुमूल्य धातु तथा पत्थरसम्बन्धी कारोबार गर्ने व्यवसायीको नियामक आन्तरिक राजस्व विभाग तोकिएको छ । त्यस्तै, क्यासिनो तथा क्यासिनो व्यवसायीको नियमन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गर्नेछ । नयाँ पत्रिकामा खबर छ ।