Logo
२० बैशाख २०८१, बिहीबार
(January 4, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चिसोका कारण बढ्यो हवाईयात्रुको चाप, टिकट पाउनै मुस्किल

नेपालगञ्ज विमानस्थलमा यतिबेला यात्रुको चाप निकै बढेको छ । चिसो बढेसँगै जहाज चढ्ने यात्रु बढेकाले नेपालगञ्ज विमानस्थलमा चाप बढेको हो ।

दशैँ, तिहारमा जस्तै व्यस्त विमानस्थलमा अहिले दैनिक ५० उडान भइरहेका छन् । यात्रुलाई टिकट पाउन मुस्किल परेको छ । नेपालगञ्ज विमानस्थल कार्यालयका प्रमुख प्रेमनाथ ठाकुरका अनुसार दैनिक हवाईजहाज चढेर आवतजावत गर्ने यात्रुको सङ्ख्या एक हजार २०० देखि एक हजार ५०० सम्म पुग्छ । यो सङ्ख्या विगत वर्षभन्दा बढी हो ।

चिसोका कारण सडक यातायातभन्दा हवाईजहाज रोज्ने बढेका छन् । चिसोमा कष्ट र झन्झट हुने भएपछि जहाजमा यात्रा गर्नेको चाप देखिएको ठाकुरले बताउनुभयो । “अहिले रु तीन हजारदेखि रु चार हजारसम्म टिकट पाइरहेको छ”, विमानस्थल प्रमुख ठाकुरले भन्नुभयो, “आयस्रोत बढेका कारण छिटो र सहजरूपमा गन्तव्यमा पुगिने जहाज प्रयोग गरिरहेका छन् ।”

नेपालगञ्ज विमानस्थलमा दशैँ, तिहार र मानसरोवरको याममा अहिलेको भन्दा यात्रुको चाप धेरै हुन्छ । नेपालगञ्ज-काठमाडौँ आवातजावत गर्ने यात्रु धेरै छन् । पहाडी जिल्लामा जानेभन्दा बेँसी झर्नेको सङ्ख्या बढी छ । नेपालगञ्ज होली डेका प्रबन्ध निर्देशक श्रीराम सिग्देलले आयस्रोत बढेसँगै जहाज प्रयोग गर्ने बढेको बताउनुभयो । “नेपालगञ्ज-काठमाडौँको भाडादर रु १० हजार हुँदा पनि नागरिक जहाज चढ्थे । अहिले त्योभन्दा धेरै कम छ”, सिग्देलले भन्नुभयो ।

सिग्देलले आन्तरिक हवाई यात्रु जस्तै पश्चिम नेपालमा पर्यटकको चाप बढाउन सके अझ राम्रो हुने बताउनुहुन्छ । भ्रमण वर्ष शुरु भए पनि घुम्नका लागि पश्चिम आउने पर्यटकको सङ्ख्या भने कमै छ । नेपालगञ्ज विमानस्थल आन्तरिक यात्रुले नै धानेको छ । यो विमानस्थल आन्तरिक उडानतर्फ धेरै व्यस्त हुने विमानस्थलका रुपमा रहेको छ ।

पहिलेका वर्षहरुमा चिसोको समयमा पटक–पटक हवाई उडान अवरुद्ध हुने गरेकामा यसपटक दुई दिनमात्र त्यस्तो समस्या आएको विमानस्थल प्रमुख ठाकुरले बताउनुभयो । सडक यातायात भरपर्दो नभएको र अन्य ठाउँमा नियमित उडान नहुँदा नेपालगञ्ज विमानस्थमा दुई वर्षयता हवाई यात्रुको चाप बढेको नेपालगञ्ज विमानस्थल कार्यालयले जनाएको छ ।

पश्चिम क्षेत्रको केन्द्रमा सबैभन्दा ठूलो र सबैको पहुँचमा रहेका कारण पनि नेपालगञ्ज विमानस्थलमा यात्रुको चाप बढेको हो । वर्षेनी यात्रुको चाप बढ्दै गएको तर उडानमा वृद्धि नहुँदा भने नागरिकले अपेक्षाअनुसार सेवा पाउन नसकेको यात्रुहरुको गुनासो छ । सडक यात्रामा धेरै चापमा परिने र दुःख पाइने भएका कारण पनि हवाई यात्राप्रति आकर्षण बढेको हो ।

अहिले अधिकांश कार्यालय प्रयोजनका लागि आवतजावत गर्ने यात्रुले हवाईमार्ग प्रयोग गर्ने गर्छन् । सार्वजनिक यातायातमा यात्रा गर्दा निश्चित समयमा गन्तव्यमा पुग्न कठिनाइ हुने र काम बिग्रने भएका कारण पनि हवाई यात्रु बढेका हुन् । विमान चढ्ने यात्रुको चाप हेर्दा गत वर्षभन्दा यस वर्ष अझै बढ्ने देखिएको विमानस्थल प्रमुख ठाकुरले बताउनुभयो ।

“सबैलाई समयमै आफ्नो गन्तव्यमा पुग्ने सोच हुन्छ, सडक यात्रामा भनेजस्तो नहुन पनि सक्छ”, ठाकुरले भन्नुभयो, “हवाई भाडा पहिलेजस्तो महङ्गो पनि छैन, सहुलियत दरमा समयमै गन्तव्यमा पुग्ने भएकै कारण हवाईयात्रुको चाप बढेको हो ।” अन्य ठाउँमा नियमित उडान हुन नसक्दा नेपालगञ्ज विमानस्थल प्रयोग गर्ने यात्रुको चाप बढेको हो ।

प्रकाशित मिति: Jan 4, 2020

प्रतिक्रिया दिनुहोस्