Logo
८ माघ २०८१, मंगलबार
(January 3, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आन्दोलित किसानसामु उद्योगमन्त्री भट्टले भने- ‘उखुको भुक्तानी दिलाउन लिखित सहमति नै गर्छु’

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आगामी माघ ६ गतेभित्रै मिल मालिकहरुबाट उखु किसानहरुको भुक्तानी गराईनेबारे लिखित सहमति गर्ने प्रतिबद्धता जनाएका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री भट्टले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्।

मन्त्री भट्टले उखु किसानहरुको मागप्रति सरकार सुरुदेखि नै सकारात्मक र गम्भिर रहेको बताउँदै आगामी माघको पहिलो साताभित्रै सबै भुक्तानी दिलाउनेगरि लिखित रुपमै सहमति गर्ने स्पष्ट पारेका हुन् । उनले भने,‘आउने माघको ६ गतेभित्र उखु किसानहरुको माग पूरा हुन्छ । म लिखित रुपमै प्रतिबद्धता व्यक्त गर्छु ।’

साक्षात्कारमा बोल्दै उनले यही पुसभित्र ८० प्रतिशत र बाँकी २० प्रतिशत माघको पहिलो सातासम्म भुक्तानी गराईसकिने विश्वास दिलाएका हुन् । उनले भने,‘सरकारको तर्फबाट म चिनी मालिकसँग किसानहरुको बाँकी भुक्तानी उठाईदिने प्रतिबद्धता व्यक्त गर्दर्छु । सरकारले नै अब किसानहरुको भुक्तानी उठाईदिने जिम्मेवारी लिएको छ ।’

उनकाअनुसार १३ वटामध्ये ३ वटा चीनी मिलले किसानहरुलाई भुक्तानी दिन बाँकी रहेको छ । उनले भने,‘उखु किसानहरुको माग र समस्याको दिर्घकालिन समाधान गर्न हामी आजै एउटा कार्यदल गठन गर्छौं । र त्यो कार्यदलले १५ दिनभित्र प्रतिवदन दिनेछ । त्यो प्रतिवेदन आएपछि हामी त्यही अनुसार अघि बढ्छौं । अब उखु किसानहरुलाई दिईने हरेक अनुदान किसानकै खातामा हालिदिने व्यवस्था पनि गर्छौं ।’

उनले आफूहरुले उखु किसानहरुको मागलाई गम्भिरतापूर्वक लिएको सुनाउँदै किसानको समस्या समाधान गर्न वर्तमान सरकार पूर्ण प्रतिबद्ध रहेको दोहोर्याए । उनले भने,‘अब शंका उत्पन्न गर्न दिन्नौं ।’ उनले रुग्न अवस्थामा रहेका वीरगन्ज चीनी कारखाना र लुम्बिनी चिनी कारखानालाई पनि छिट्टै सञ्चालनमा ल्याउने विश्वास दिलाए ।

मन्त्री भट्टले नेपालमा २ लाख ४० हजार मेट्रिक टक चीनी चाहिने आवश्यकत्ता औंल्याए । उनले भने,‘तर, अहिले एक लाख ७५ हजार मेट्रिक टन उत्पादन हुन्छ । हामीलाई अझै ६५ हजार अभाव छ । सरकारले प्रति क्विन्टल ६५ रुपैयाँ २८ पैसा अनुदान दिएको छ ।’ कार्यक्रममा उखु किसान संघर्ष समितिका संयोजक राकेश मिश्रले विभागीय मन्त्रीबाटै आफूहरुको माग पूरा गराउने प्रतिबद्धता आएको भन्दै खुशी व्यक्त गरे ।

कार्यक्रममा उपस्थित् भएका उखु किसानहरुले अब आफूहरु घर फर्किने पनि जानकारी दिए । उनीहरुले विभागीय मन्त्रीबाट नै माग पूरा गराउने प्रतिबद्धता आएकोले अब घर फर्किन आफूहरु तयार भएको स्पष्ट पारेका हुन् । मिश्रले अघि थपे,‘मिडियाकै कारण हाम्रो आन्दोलन सफल हुन मद्दत पुग्यो ।

कार्यक्रममा उखु किसान संघर्ष समितिका सचिव हरिश्याम रायले आफूहरुले सरकारप्रति विश्वास र भरोसा राखेर लामो समयसम्म पर्खेर बसेको सुनाए । तर, लामो समयसम्म पर्खिदापनि माग पूरा नगरेकोमा आफूहरु दुःखित भएको पनि उनले गुनासो पोखे । उनले भने,‘सरकारी पक्षबाट हामीले धेरैपटक धोका खायौं ।

अर्का उखु किसान रामविलाष रायले पनि तीन वर्षदेखि आफू मारमा परेको दुखेसो पोखे । उनले भने,‘मैले तीन वर्षदेखि तीन लाख लिनुपरेको छ । तर, यो बीचमा मैले आफ्नो स्वास्थ्योपचारदेखि अन्य धेरै समस्याको समाधान ऋण मागेर गर्नुपरेको छ । अब ऋणको ब्याज तिर्दा म त धेरै ठूलो मारमा पर्छु नि ।’

प्रकाशित मिति: Jan 3, 2020

प्रतिक्रिया दिनुहोस्