Logo
२७ कार्तिक २०८१, मंगलबार
(January 3, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुदूरपश्चिममा वर्षासँगै पुनः हिमपात शुरु, स्थानीयवासीको जनजीवन प्रभावित

मौसममा आएको परिवर्तनसँगै सुदूरपश्चिमका अधिकांश उच्च हिमाली क्षेत्रमा हिमपात भएको छ । हिमपातले यहाँको जनजीवन प्रभावित बनेको छ ।

वर्षासँगै सुदूरपश्चिमका बाजुरासहित अछाम, डोटी, डडेल्धुरा, बझाङ, बैतडी र दार्चुला जिल्लामा बिहीबार हिमपात भएको हो । हिमपातसँगै जिल्लामा चिसो बढेको छ ।

बाजुराका गौमुल, हिमाली, स्वामीकार्तिक खप्तड छेडेदह गाउँपालिका र बडीमालिका नगरपालिकालगायतका क्षेत्रमा हिमपात भएको स्थानीयवासीले बताएका छन् ।

पूर्वी उत्तरी भेगका चार स्थानीय तहमध्ये हिमाली गाउँपालिकामा रहेका विच्छ्याँ, रुगिन, बूढीनन्दा नगरपालिकाको कोल्टी, पाण्डुसैन र बडीमालिका नगरपालिका र बूढीनन्दा नगरपालिकामा बीचमा पर्ने पोरखे लेकमा बाक्लो हिमपात भएको छ ।

पोरखे लेकमा बाक्लो हिमपात भएको बडीमालिका नगरपालिका-७ का स्थानीय धनलाल पाध्यायले बताएका छन् ।

यस्तै गौमुल गाउँपालिकाको दहकोट र मानाकोटमा समेत बाक्लो हिमपात भएको सोही गाउँपालिका-१ का वडाध्यक्ष बलबहादुर रोकायाले जानकारी दिए ।

हिमपातले गर्दा बाहिर निस्कनसमेत मुस्किल भएको वडाध्यक्ष रोकायले बताए । उनका अनुसार हिमपातले चिसो बढेसँगै बस्तुभाउ स्याहारमा समेत समस्या भएको छ ।

गोठमा गाईभैँसी र भेँडापाठा चराउन पुगेका स्थानीय कृषकलाई समेत सामान पु¥याउन झनै समस्या भएको रोकायाले राससलाई बताए ।

सिँचाइ नभएका क्षेत्रमा वर्षा र हिमपातले सिँचाइको काम गर्ने भएकाले किसान खुशी भएका छन् । हिमपात भएपछि विभिन्न रोगकिरासमेत नष्ट भएर जाने कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।

लेकाली भेगका ठाउँमा चिसोबाट बच्न सतर्कता अपनाउन निमित्त प्रमुख जिल्ला अधिकारी समीर भण्डारीले आग्रह गरे ।

उनले चिसोबाट बालबालिका र वृद्धवृद्धा बढी प्रभावित हुने भएकाले आवश्यक औषधिको व्यवस्था गर्न स्थानीय तहलाई निर्देशन दिएको बताए ।

पूर्वी क्षेत्रका चार स्थानीय तह र तल्लो क्षेत्रका गौमूल गाउँपालिकालगायतका क्षेत्रका विद्यालय हिमपातका कारण पूर्णरूपमा बन्द भएका छन् ।

हिमपातले चिसो हुने भएकाले बालबालिका बढी प्रभावित हुने भएकाले विद्यालय नै बन्द भएका हुन् ।

अधिकांश विद्यालयमा तेस्रो त्रैमासिक परीक्षा सञ्चालन भइरहेको छ । वर्षा र हिमपातका कारण विद्यालयले सञ्चालन गर्दै आएका परीक्षासमेत प्रभावित हुने मालिका नमूना माध्यमिक विद्यालयका प्रधानाध्यापक शुभराज पाध्याले बताए ।

चिसोले विद्यार्थीलाई समस्या हुने भएकाले परीक्षा नै स्थगित गर्नुपर्ने हुनसक्ने प्रधानाध्यापक पाध्यायको भनाइ थियो ।

प्रकाशित मिति: Jan 3, 2020

प्रतिक्रिया दिनुहोस्