ओली र मोदीबिच टेलिफोन वार्ता,कालापानीसहित बाँकी विषय समाधान गर्ने सहमति
भारतीय समकक्षी नरेन्द्र मोदीले प्रधानमन्त्री केपी ओलीलाई टेलिफोन गरी दुई देशबीचका समस्या समाधान गरी सम्बन्ध थप सुदृढ बनाउने प्रस्ताव गरेका छन् । अंग्रेजी नयाँ वर्ष २०२० को अवसरमा शुभकामना दिन मोदीले बुधबार बिहान ओलीलाई टेलिफोन गरेका थिए ।
दुई प्रधानमन्त्रीबीच दुई देशका समस्या समाधान गर्ने सहमति भएको प्रधानमन्त्री ओलीका कूटनीतिक मामिला सल्लाहकार डा। राजन भट्टराईले बताए । उनका अनुसार बिहान साढे १० बजे प्रधानमन्त्री ओली र मोदीबीच संवाद भएको हो । संवादमा कालापानी उल्लेख नगरी दुई देशका समस्या समाधान गर्दै सम्बन्ध थप सुदृढ गर्ने सहमति भएको छ ।
‘सन् २०१९ मा नेपाल र भारतको सम्बन्ध सुमधुर रहेको र सन् २०२० मा दुई देशबीच बाँकी विषय समाधान गर्दै सम्बन्ध थप सुदृढ गर्न दुवै प्रधानमन्त्रीहरूबीच सहमति भएको छ,’ टेलिफोन संवादबारे जानकार डा। भट्टराईले नयाँ पत्रिकासँग भने । प्रधानमन्त्रीबीच कालापानीलगायत समस्याबारे भने छलफल नभएको भट्टराईले बताए ।
मोदीले पछिल्लोपटक १४ मंसिरमा ओलीलाई चिठी लेखेर स्वास्थ्यलाभको कामनासहित आवश्यक परे भारतमा उपचार गर्न प्रस्ताव गरेका थिए । त्यसको एक महिनापछि टेलिफोन संवाद भएको हो । ओलीले मोदीलाई नेपाल भ्रमणको निम्तो पनि दिएको भट्टराईले बताए ।
टेलिफोन वार्ताबारे प्रधानमन्त्री ओलीले बुधबार बिहानै ट्विटसमेत गरेका छन् । उनले भनेका छन्, ‘हामीले नयाँ वर्ष २०२० को शुभकामना आदानप्रदान गर्यौँ । दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन सन् २०१९ सफल रहेको र बाँकी समस्या समाधान गर्दै सम्बन्धलाई अझै उचाइ पुर्याउन सन् २०२० सफल रहनेमा हामीले विश्वास व्यक्त गर्यौँ । मैले प्रम मोदीलाई नेपाल भ्रमणका लागि पुनः आग्रह गरेँ ।’ तर, टेलिफोन संवादबारे मोदीको व्यक्तिगत ट्विटर ह्यान्डलबाट भने केही उल्लेख छैन । प्रधानमन्त्री कार्यालयको ट्विटरबाट भने बुधबार साँझ जानकारी दिइएको छ ।
प्रधानमन्त्रीद्वयले बाँकी विषयमा समाधान खोज्न छलफल गरेपछि कालापानीसम्बन्धी दुई देशका विदेशसचिवस्तरीय वार्ताका लागि सकारात्मक माहोल बनेको कूटनीतिज्ञहरूको बुझाइ छ ।
पूर्वपरराष्ट्रसचिव डा मदनकुमार भट्टराईले प्रधानमन्त्रीद्वयको संवादको परिणाम दुई देशको राजनीतिक र प्राविधिक ९प्रशासनिक० तहमा पनि पर्ने जानकारी दिए । उनले भने, ‘दुई प्रधानमन्त्रीको संवादले औपचारिक संयन्त्रमा दुई देशबीच छलफल गर्न सहज परिस्थिति बनाएको छ ।’ तर, सीमासम्बन्धी समस्याले नै दुई देशको सम्बन्ध प्रभावित हुनु नहुने उनको भनाई छ ।
नेपालले डिसेम्बरको पहिलो र तेस्रो साताको मिति प्रस्ताव गरेर विदेशसचिवस्तरीय बैठकका लागि औपचारिक पत्र पठाएको एक महिनापछि भारतले नयाँ मितिमा वार्ताका लागि प्रस्ताव गरेको परराष्टमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए । नयाँ मितिबारे दुई देशको औपचारिक कूटनीतिक च्यानलमा छलफल भइरहेको छ ।
ज्ञवालीले भने, ‘भारतले वार्ताबाट समस्या समाधान हुनुपर्ने महसुस गरेको छ र तत्परता पनि देखाएको छ ।’ दुई देशबीच वार्ता भने भारतका विदेश सचिव हर्षबद्र्धन श्रींगलाले कार्यभार सम्हालेपछि मात्रै हुने भारतीय कूटनीतिक स्रोतहरूको भनाई छ ।नयाँ पत्रिकामा खबर छ ।