पार्टीभित्र चर्किंदै गएको विवाद मिलाउन कस्सिए देउवा
कांग्रेस सभापति शेरबहादुर देउवा पार्टीभित्र चर्किंदै गएको विवाद मत्थर बनाउन आफूनिकट नेताहरूसँग छलफलमा जुटेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षले बहुमतका आधारमा गरिएका निर्णय सच्याउन दबाब दिइरहेका बेला देउवाले आफूनिकट नेताहरूसँग परामर्श थालेका हुन् ।
देउवासहित आइतबार संस्थापन पक्षका नेताहरूसँग करिब चार घण्टा छलफल गरे । छलफलमा नेताहरूले पार्टीको विभाग, नेविसंघ र तरुण दलको कार्यसमिति गठन तथा विस्तार गर्दा पौडेल र सिटौला पक्षलाई समेटेर लैजाने सहमति गरेका छन् । राष्ट्रिय सभाको निर्वाचनसम्बन्धी छलफलका लागि पुस १७ गते केन्द्रीय कार्यसमितिको बैठक बोलाउने र त्यसअघि वरिष्ठ नेता पौडेलसहितको उपस्थितिमा पदाधिकारी बैठक बोलाउने पनि तय भएको छ ।
विभाग, नेविसंघ र तरुण दलको गठन तथा विस्तारमा सहमतिका लागि संवाद गर्न उपसभापति विमलेन्द्र निधिलाई जिम्मेवारी दिइएको छ । यसअघि ‘प्याकेज’ सहमति जुटाउनका लागि भएका छलफलमा पनि निधि संलग्न थिए । निधिको पहल टुंगोमा नपुग्दै देउवाले बहुमतको निर्णयबाट महाधिवेशनको कार्यतालिका तोक्ने, केन्द्रीय कार्यसमितिको कार्यकाल एक वर्ष बढाउने, विभागको संख्या थप्ने र तरुण दलको म्याद बढाउनेलगायत निर्णय गरेका थिए ।
विरोधलाई मत्थर बनाउन देउवाले पार्टीका विभाग, नेविसंघ र तरुण दलको कार्यसमितिमा पौडेल र सिटौला पक्षलाई समेट्ने प्रयास थालेका हुन् । तर, सहमति नभए बहुमतबाटै अघि बढ्ने उनको योजना रहेको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले बताए । देउवाले बोलाएको बैठकमा उपसभापति विजयकुमार गच्छदारले बहुमतबाट निर्णय लिएर अघि बढ्नु गल्ती भएको बताएका थिए । ‘दुईरचार दिन पर्खेको भए के बिग्रन्थ्यो र ?’ गच्छदारको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘यसले पार्टीमा झनै किचलो बढाएको छ ।’
महामन्त्री पूर्णबहादुर खड्का, केन्द्रीय सदस्यहरू ज्ञानेन्द्रबहादुर कार्की, एनपी सावदलगायतले पनि सहमतिबाटै अघि बढ्न सुझाएका थिए । पार्टीका संरचनाहरूमा संस्थापन इतरपक्षलाई समेटेरै अघि बढ्नुपर्ने उनीहरूको सुझाव थियो । महामन्त्री खड्का र कार्कीले केन्द्रीय कार्यसमितिले निर्णय गरिसकेपछि अब हुने निर्णयमा सबैलाई समेट्नुपर्ने धारणा राखेका थिए ।
देउवाले आफूले सहमतिका लागि गरेका धेरै प्रयास सफल नभएपछि निर्णय लिन बाध्य भएको सुनाएका थिए । विभाग, नेविसंघ, तरुण दल गठन र विस्तारमा सबैलाई समेट्न प्रयास गर्ने तर सम्भव नभएमा आफैंले सबैलाई समेटेर गठन गर्ने देउवाको तयारी छ । संस्थापन इतरपक्षले भने विभाग, नेविसंघ र तरुण दल विस्तारमा आफ्नो पक्ष सहभागी नहुने बताएको छ ।