तोडियो चिनियाँ आपराधिक सञ्जालको जालो : एकै दिन काठमाडौँबाट ९२ चिनियाँ नागरिक पक्राउ
काठमाडौंमा बसेर शंकास्पद गतिविधि गरेको आरोपमा प्रहरीले ९२ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। केही दिनअघि मात्रै गृह मन्त्रालयमा बसेको सुरक्षा समितिको बैठकमा राजधानीका मनमैजु, बाँसबारी र सामाखुसीमा बसेर सेल्टर बनाई चिनियाँहरुले शंकास्पद गतिविधि गरेको रिर्पोट सुरक्षा प्रमुखहरुले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई बुझाएका थिए।
सोही रिर्पोटका आधारमा प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो, महानगरीय प्रहरी अपराध महाशाखा र प्रहरी परिसर टेकुको एउटै टीम बनाएर अपरेशन गर्न निर्देशन दिएका हुन्। सोमबार तीन वटै प्रहरी कार्यालयले संयुक्त अपरेशन गरेका छन्। ती स्थानमा अहिलेसम्म ९२ जना चिनियाँ नागरिकहरु पक्राउ गरेको स्रोतले बतायो।
अपरेशन अहिले पनि जारी छ। प्रहरी स्रोतले कस्तो शंकास्पद गतिविधि गरेको भन्नेबारे खुलाएको छैन। प्रहरी उच्च स्रोतका अनुसार चिनियाँ नागरिक के का लागि बसेको र किन बसेको भन्ने जानकारी छैन। अधिकांशको भीसाको म्याद समेत सकिएको छ।
राजधानीको विभिन्न स्थान सोमबार दिउँसो तनावग्रस्त भयो । केही स्थानमा त प्रहरीले फाइरिङ हुनसक्ने भन्दै स्थानीयलाई घरभित्र बस्न र सटर पसल बन्द गर्न भन्यो । बालाजुमा प्रहरीको ठूलो संख्या हतियारसहित पुगेपछि स्थानीयका लागि चासो बन्यो ।
प्रहरीले एकै दिन एक्सनमा पुगेर विभिन्न स्थानबाट चिनियाँ नागरिक संलग्न आपराधिक गिरोहलाई पक्राउ गरेको छ । उनीहरु ५० भन्दा बढी संख्यामा रहेको बुझिएको छ । राजधानीको तीन स्थानबाट नेटवर्कको माध्यमबाट आर्थिक अपराधमा संलग्न ठूलो गिरोह पक्राउ परेको महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले बताए ।
उनले पक्राउ परेकामाथि अनुसन्धान भइरहेको जानकारी दिए । अपराध अनुसन्धान महाशाखाको टोलीले एकैपटक तीन स्थानबाट गिरोहका व्यक्तिहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका सबै चिनियाँ नागरिक छन् । उनीहरु नेटवर्कका माध्यमबाट आर्थिक अपराधमा संलग्न रहेको प्रहरी स्रोतले पुष्टि गरेको छ । चिनियाँ आपराधिक सञ्जालको जालो तोड्न प्रहरीले लामो अनुसन्धानपछि ती व्यक्तिहरु पक्राउ परेको बुझिएको छ ।
चिनियाँ नागरिकहरु पछिल्लो समय वित्तीय अपराधमा धमाधम पक्राउ परिरहँदा पछिल्लो घटना भएको हो । यसअघि बैंकको एटीएमबाट पैसा चोर्ने ठूलो गिरोह पत्ता लागेको थियो । बैंकको कम्प्युटर प्रणाली नै ह्याक गरेर एउटा समूहले करोडौं निकालेको पत्ता लागेको थियो । जसमा चिनियाँ नागरिकहरु संलग्न रहेको भेटिएका थिए ।
यसैगरी, प्रहरीले आइतबार चारजना विदेशी नागरिकलाई लागूऔषध कोकिन कारोबारसहित पक्राउ गरेर सार्वजनिक गरेको थियो । पक्राउ परेकाहरु लागूऔषधको अन्तर्राष्ट्रिय सञ्जालका सदस्य समेत थिए ।
#सांकेतिक तस्विर