गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रङ्गशालालाई सहयोग र्पुयाउन धुर्मुशले गरे ठेला पसल
चितवन : धुर्मुश सुन्तरी फाउण्डेशनले पश्चिम चितवनको रामपुरमा बनाउँदै गरेको गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रङ्गशालालाई सहयोग र्पुयाउन ठेला पसल सञ्चालनमा ल्याइएको छ ।
रङ्गशालाको अवलोकन गर्न आउनेलाई लक्षित गरी ठेला पसल सञ्चालनमा ल्याइएको फाउण्डेसनका अध्यक्ष सीतारम कट्टेलले जानकारी दिए । उनका अनुसार ठेलामा फलफूल, बदाम, पानी लगायतका वस्तु विक्री गरिएको छ ।
अब मःम, चाउमिन, चना जस्ता खाद्यवस्तु बिक्री गरिने उनले जानकारी दिए । गत आइतबारबाट ठेला पसल सञ्चालनमा ल्याइएको हो । सोमबार रु तीन हजार ३०० बचत भएको छ । रङ्गशाला निर्माण सहयोगार्थ भएकाले घुम्न आउने धेरथोर किनेर सहयोग गर्न शुरु गरेका छन् । रङ्गशालाभित्र भ्यू टावरबाट हेर्नका लागि रु २० को टिकट लाग्ने व्यवस्था गरिएको छ ।
एकै दिन दुई हजार २०० जनासम्मले टिकट खरीद गरी रङ्गशालाको अवलोकन गरेका छन् । पछिल्लो समय विद्यार्थी, सहकारी, आमा समूह, टोल विकास समितिलगायतका सङ्घ संस्थाका भ्रमण टोलीको प्रमुख गन्तव्य रङ्गशाला बन्ने गरेको छ ।
रङ्गशालामा देशका ७७ जिल्लाको अपनत्व हुनेगरी नक्शाङ्कन गरिएको छ । रङ्गशालाको विभिन्न कक्षलाई जिल्लाबाट नामाकरण गरिएको उनले जानकारी दिए ।
निर्माणको काम तीव्र भए पनि आर्थिक सङ्कलन भने खासै हुन सकेको छैन । रु आठ करोडको हाराहारीमा बोलकबुल भएकोमा रु एक करोड मात्र सङ्कलन भएको छ । हालसम्म विभिन्न क्षेत्रबाट बोलकबुलको बाहेक रु तीन करोड सङ्कलन भएको उनले बताए ।
रङ्गशाला सम्पन्न गर्न रु दुई अर्ब ५० करोड खर्च हुने अनुमान छ । यद्यपि श्रमदान र अन्य सामग्रीको सहयोग भएमा त्यति खर्च नलाग्ने फाउण्डेशनले जनाएको छ ।