महराले दिएको निवेदनउपर आज उच्च अदालतमा सुनुवाइ हुँदै, छुट्लान त महरा ?
जबर्जस्ती करणी प्रयासको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महराको मुद्दा उच्च अदालतमा सुनुवाइ हुँदैछ। उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदी र टेकनारायण कुँवरको इजलासमा पेसी रहेको छ।
यसअघि जिल्लाको आदेश मगाउने निर्णय गरेको उच्चले बिहीबारको सुनुवाइमा महरालाई पुर्पक्षका लागि थुनामा पठाउने निर्णय सदर वा बदर गर्नेछ। उच्चले जिल्लाको फैसला उल्ट्यायो भने उनी थुनामुक्त हुने छन्।
उच्चले जिल्लाकै आदेश सदर गरेमा उनी थुनामै रहनुपर्ने कानुनी मान्यता रहेको छ । उच्चको उक्त आदेशविरुद्ध उनी फेरी सर्वाेच्च भने जान पाउने छन्।
जबर्जस्ती करणी उद्योगमा मंसिर ६ गते जिल्ला अदालत काठमाडौंका न्यायाधीश सुदर्शन पाण्डेको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने निर्णय गरेको थियो । सोही अनुसार हाल उनी डिल्लीबजार कारागारमा रहेका छन्।