कांग्रेसमा असन्तुष्ट कायमै : बोहोराटारमा पौडेल पक्षको भेला, केन्द्रीय समिति बैठक अनिश्चित
काठमाडौं : नेपाली कांग्रेसमा देखिएको विवाद अझै मिल्ने छाँट देखिएको छैन ।
सभापति शेरबहादुर देउवाले पेलेरै केन्द्रीय समिति बैठक राखेपछि बहिष्कारमा उत्रिएका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो रणनीति बनाइरहेका छन्। दुई दिन बसेर बुधबार दिउँसो १ बजेसम्मका लागि रोकिएको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकको अझै टुंगो लागेको छैन।
कांग्रेसमा असन्तुष्ट देखिँदै आएका वरिष्ठ नेता पौडेल पक्षका नेताहरुले आफ्ना पक्षका नेतालाई पौडेल निवास बोहोराटारमा बोलाएपछि केन्द्रीय समिति बैठक अनिश्चित भएको हो। पौडेलले आफ्नै निवासमा हुने गुटगत छलफलमा कांग्रेसमा तेस्रो गुटको नेतृत्व गर्दै आएका वरिष्ठ नेता कृष्णप्रसाद सिटौलालाई पनि बोलाएका छन्। ‘छलफल सुरु भइसकेको छ,’ पौडेल पक्षका नेता नवीन्द्रराज जोशीले जानकारी दिए।
गत मंसिर २६ गते केन्द्रीय कार्यसमितिको बैठक सुरु भएपनि पौडेल पक्षले संस्थापन पक्षलाई १४ औँ महाधिवेशनको निर्वाचन कार्यतालिका नल्याई बैठकमा सहभागी नहुने अडानसहित बैठक बहिस्कार गर्दै आएको छ। ’वरिष्ठ नेता पौडेलको निवासमा हामी छलफलमा जुटेका छौँ,’ पौडेल पक्षका नेता बद्री पाण्डेले भने, ’आजको बैठकले के गर्ने भन्ने टुंगो लगाउँछ।’
उता पार्टी सभापति शेरबहादुर देउवा पक्षले भने पहिले पार्टीको संगठन संरचना पुरा भएपछि मात्रै अधिवेशनको निर्वाचन कार्यतालिका ल्याउने बताउँदै आएको छ। पौडेललाई फकाउन देउवा आफैँ पनि सक्रिय देखिएपनि सफल भएनन्।
दुइ पक्षको विवाद समाधान गर्न सभापतिको पक्षबाट पार्टी उपसभापति विमलेन्द्र निधि र पौडेल पक्षबाट वरिष्ठ नेता प्रकाशमान सिंहले छलफलको नेतृत्व गर्दै आइरहेका छन्। पछिल्लो समय सिंह निवास चाक्सीबारीमा दुई पक्षका नेताहरुको लगातार छलफल हुने गरे पनि निस्कर्ष निस्कन सकेको छैन।