तरुण दलले भन्योः खेलकुद मन्त्रीलाई बर्खास्त गर, स्वर्ण विजेतालाई २५ लाख देउ
नेपाल तरुण दलले सागका स्वर्ण विजेतालाई २५ लाख दिनुपर्ने माग गरेको छ । सरकारसँग दलले १३ औं दक्षिण एसियाली खेलकुद मा स्वर्ण पदक जित्ने खेलाडीहरुलाई जनही २५ लाख रुपैयाँको दरले सम्मान गर्न माग गरेको हो ।
यस्तै रजत पदक जित्नेलाई १५ लाख र कांस्य पदक विजेतालाई १० लाख रुपैयाँको दरले सम्मान गर्नुपर्ने तरुण दलका अध्यक्ष जितजंग बस्नेतद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ, ‘साग खेलकुदमा खेलाडी र प्रशिक्षकको सेवा र सुविधामा भ्रष्टाचार गर्ने खेलकुद परिषदका सदस्य सचिव एवं खेलकुद मन्त्रीलाई बर्खास्त गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरी कारवाही गर्न दल जोड्दार माग गर्दछ ।’
दलले साग प्रतियोगितामा खेलकुद मन्त्रालय र खेलकुद परिषद राखेपले भ्रष्टाचार गरेको आरोप लगाएको छ ।खेलाडीहरुलाई सुटिङ, साइक्लिङ, स्वीमिङ लगायतमा खेलकुदका सामाग्री प्रदान गर्न नसकेको तर मन्त्रीहरुको चाकरीका लागि राखेपले दौरा सुरुवाल उपलब्ध गराएको तरुण दलको ठहर छ ।