गोदावरीमा एक्स्काभेटर चालकमाथि ढुंगामुडा, रोकियो सडक विस्तारको काम
काठमाडौं : सडक विस्तारको काम चल्दै गर्दा गोदावरीमा एक्स्काभेटर ड्राइभर सन्तोष कोइरालामाथि ढुंगामुडा र कुटपिट गरेका छन् । गोदावरीचौरबाट हरिसिद्धीतर्फ ३ किलोमिटर सडक खण्डको ठेक्का पाएको लामा(समामान्तर जेभीका एक्स्काभेटर चालक कोइराला कुटिएका हुन् ।
चालकमाथि संघातिक आक्रमण गरिएको भन्दै निर्माण कम्पनीले जिल्ला प्रशासन कार्यालयसँग सुरक्षा मागेको छ । सडक विस्तार पीडित संघर्ष समितिको नाममा आएको समूहले एक्स्काभेटरसँगै चालकमाथि पनि ढुंगामुडा र कुटपिट गरेपछि विस्तारको काम रोकिएको छ ।
कुटपिटबाट घाइते एक्स्काभेटर चालकको हात भाँचिएको छ । उनलाई तुरुन्तै मेडिसीटी हस्पिटल लगिएकोमा थप उपचारका लागि बीएन्डबी लैजाने तयारी गरिएको समानान्तार जेभीका अच्युत खरेलले बताए । ‘हामीले ३ किलोमिटर खण्डको ४ महिनामा सकिने काम पटक-पटक यस्तै अवरोधका कारण गर्न सकेका छैनौं ,’ उनले भने,’अब कामदारमाथि नै आक्रमण हुन थालेपछि काम गर्ने वातावरण झन बिग्रिन पुगेको छ ।’
सरकारले व्यवसायीले काम गरेनन् भनेर पेल्दै गर्दा आफूहरुलाई कार्यस्थलमा जान नै समस्या पर्न थालेको उनले बताए । प्रशासनले सुरक्षाको पूर्ण प्रत्याभूति दिए र स्थानीयले सहयोग गरे ४ महिनामा काम सकाएर देखाउने उनले बताए । सरकारले २२ मिटरमा विस्तार गर्ने भनेको यो हरिसिद्धी(गोदावरी सडक स्थानीयको विरोधपछि १६ मिटरमात्रै विस्तार गर्ने निर्णय भएको छ ।
त्यसैअनुसार काम अघि बढाउँदा पनि स्थानीयले अवरोध सिर्जना गर्दा समस्या भएको सडक विभागका महानिर्देशक केशवकुमार शर्माले बताए ।