द्वन्द्वकालीन मुद्दा ममाथि पनि छन्, दोषी ठहरिए कारबाही भोग्न तयार छु : प्रचण्ड
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हत्या बलात्कार र जघन्य अपराधमा संलग्नहरुलाई केही न केही कारबाही हुने बताएका छन् । उनले आफूमाथि पनि द्वन्द्वकालीन मुद्दा रहेको भन्दै दोषी ठहर भए कारबाही भोग्न तयार रहेको बताउदै सो क्रा बताएका हुन् ।
१७ औं बुद्धिमान पाख्रिनको स्मृति दिवसको अवसरमा पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा प्रचण्डले आफू आममाफीको पक्षमा नरहेको बताए ।
जघन्य अपराधमा संलग्न राज्य वा विद्रोही पक्ष जो भए पनि केही न केही कारबाही गरेर मात्र भविष्यमा यस्ता घटना दोहोरिन नदिने वातावरण बनाउन सकिने बताए । प्रचण्डले भने, ‘ममाथि पनि धेरै मुद्दा छन् । झुटा छन्, सही छन्, पछि थाहा हुने कुरा हो । तर यदि म दोषी नै ठहरिन्छु भने कारबाही भोग्न तयार छु ।’
आन्तरिम संविधानका बेलामा ‘द्वन्द्वका बेला जे भयो, भयो अब बिर्सौं’ भन्ने प्रस्तावमा छलफल भएको स्मरण गर्दै उनले भने, ‘मैले नै त्यतिबेला त्यसो गर्न हुँदैन भने । फेरि गलत ढंगले मानिसहरुको हत्या नहोस्, बलात्कार नहोस् । हत्या बलात्कार र जघन्य अपराधमा संलग्नहरुले उन्मुक्ति पाउने वातावरण नबनोस् भनेर मैले नै त्यसो गर्न हुँदैन भने ।’
अन्तर्रा्ष्ट्रिय अनुभव र न्यायको मान्यतालाई मध्यनजर गर्दै प्रत्येक घटनाको छानविन गर्दै सत्य पत्ता लगाउनुपर्ने र मेलमिलापको उद्देश्य राखेर पारिपूरणको वातावरण उनले बताए ।
सशस्त्र द्वन्द्वकालका घटनाहरुको छानविन गरी सत्यतथ्य पत्ता लगाउने, दोषीलाई कारबाही र मेलमिलापको वातावरण बनाउन छिट्टै आयोगहरु बन्ने उनले बताए ।