Logo
६ जेष्ठ २०८१, आईतबार
(November 27, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पशुपति कोषलाई भारतीय महिला संघद्वारा विद्युतीय सवारीसाधन हस्तान्तरण

पशुपति क्षेत्र विकास कोषलाई भारतीय महिला संघले विद्युतीय सवारीसाधन हस्तान्तरण गरेको छ । संघकी अध्यक्ष श्रीमती नम्रिता पुरीले पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकाललाई पशुपति मन्दिर परिसरमा गएर २ वटा विद्युतीय सवारी साधन हस्तान्तरण गरेका हुन् ।

भारतीय कम्पनी गयाम मोटर वकर््सबाट उत्पादित उच्च–गुणस्तरको लिथियम आयन ब्याट्रीजडित आठ सिट क्षमता भएको वातावरणमैत्री सवारी साधन बुधवार हस्तान्तरण गरिएको हो ।

श्रीमती पुरीले पशुपतिनाथ मन्दिरको दर्शन गर्न आउने तीर्थयात्री र विशेष गरी महिला, बालबालिका, वृद्ध वृद्धा तथा अशक्त व्यक्तिहरुका लागि यी वातावरण मैत्री सवारीसाधन उपयोगी हुने बताइन ।

उनले उक्त सवारीसाधनले दुई महिलाको लागि रोजगारीको अवसर पनि प्रदान गर्ने भन्दै भारत र नेपालका जनताबीच रहेको साँस्कृतिक तथा धार्मिक सम्बन्धलाई सुदृढ गर्नुका साथै दुई देशका जनतालाई अझ नजिक ल्याउन विद्युतीय सवारीसाधनको हस्तान्तरण अर्को कोषेढुङ्गाको रुपमा रहने बताइन ।

भारतीय राजदूतावासको संरक्षकत्वमा रहेको भारतीय महिला संघ भारतीय महिलाहरुको एक सङ्गठन हो जसले नेपालमा रहेका भारतीय महिलाहरुलाई एउटै मञ्चमा ल्याउने काम गर्दछ ।

यस संघले भारतीय र नेपाली महिलाबीच अन्तरक्रियाका लागि मञ्च प्रदान गर्नुका साथै भारतीय तथा नेपाली समुदायबीच सद्भाव र मित्रतालाई प्रवर्धन गर्ने काम गर्दछ ।

भारतीय महिला संघले नेपालमा महिला तथा बालबालिकालाई लक्षित गरी विभिन्न परोपकारी क्रियाकलापहरु पनि गर्दै आएको छ ।

हालै यस संघले काठमाडौंको नव ईन्द्र धनुष अंग्रेजी आवासीय विद्यालय, कोसेली फाउन्डेसन, बाल सारथी, नेपाली स्नेही काख र भक्तपुर क्यान्सर अस्पतालसँग मिलेर परोपकारी कार्यक्रमहरु सञ्चालन गरेको छ ।

युनेस्कोको विश्व सम्पदा क्षेत्रमा सूचीकृत पशुपतिनाथ मन्दिर तथा यस सँगैका क्षेत्रको संरक्षण तथा संचालनका लागि पशुपति क्षेत्र विकास कोषको स्थापना गरिएको हो ।

प्रकाशित मिति: Nov 27, 2019

प्रतिक्रिया दिनुहोस्