बाबा रामदेवको गुरुमन्त्रपछि उपेन्द्र यादव कानुन मन्त्रालय सम्हल्न तयार
सरकार छाड्ने कि बर्खास्तीमा पर्ने भन्ने चर्चा चलिरहेका बेला समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव अन्ततः कानुन मन्त्रालयको जिम्मेवारी सम्हाल्न तयार भएका छन् । उनी आजैबाट (सोमबार) मन्त्रालय गएर कार्यभार सम्हाल्ने भएका छन् ।
मन्त्रिपरिषद हेरफेरमा स्वास्थ्यबाट कानुन मन्त्रालयमा सारिएका यादवले मन्त्रीका रुपमा मन्त्रालयमा पदबहाली पनि गरेका छैनन् । यद्यपी मन्त्रालयले उनको नामप्लेटदेखि वेवसाइटमा समेत मन्त्रीको नाम अद्यावधिक गरिसकेको थियो ।
कानुन मन्त्रालयका सचिव राजिव गौतमलाई खबर गरेर आउँला भनेका उपप्रधानमन्त्री तथा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री यादव पाँच दिनदेखि सिंहदरवार छिरेका थिएनन् । सोमबार पोखराबाट काठमाडौं फर्किएलगत्तै उनी मन्त्रालय जाने भएका हुन् ।
यादवलाई थाहै नदिई मन्त्रालय फेरिएको र स्वास्थ्य राज्यमन्त्री डा.सुरेन्द्र यादवलाई हटाएको भन्दै उनीमाथि सरकार छाड्न पार्टीभित्र दबाब परेको छ ।
पार्टीमा संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराई पक्षले सरकार छाड्न दबाब दिइरहेका बेला यादव भने एकपटक प्रधानमन्त्री केपी ओलीसँग संविधान संशोधनका विषयमा छलफल गरौं भन्ने पक्षमा उभिएका छन् ।
यादवले तत्काल सरकार छाड्दा आफ्नो ठाउँमा ओलीले राजपा नेताहरुलाई मन्त्री बनाउने र प्रदेश २ मा समेत नेपाल कम्युनिस्ट पार्टी र राजपा मिलेर सरकार बनाउँदा समाजवादी पार्टी एक्लो हुने भन्दै सरकार छाड्न आनाकानी गरेका छन् ।
कानुन मन्त्रालय पाएका बेला संविधान संशोधनको पहल गरेको भनेर जनतामा सन्देश दिने गरी एकपटक प्रयास गर्ने चाहना यादवको रहेको उनी निकट एक नेताले बताए ।
यद्यपी डा.बाबुरामले पोखरामा आइतबार आफूविरुद्ध गरेको उत्तेजक भाषणबाट प्रधानमन्त्री ओली आक्रोशित बनेको र त्यसको असर यादवको मन्त्री पदमाथि समेत पर्न सक्ने डर उनी निकटस्थहरुको छ ।
प्रधानमन्त्री ओलीमाथि पनि उपेन्द्रलाई सरकारबाट हटाउन दबाब परिरहेको छ । सत्तामा रहेर पनि सत्तापक्षको भूमिका नदेखाएको र बाबुराम भट्टराईले निरन्तर सरकारको उछितो काढेकोमा ओली असन्तुष्ट छन् ।
यादव केहि दिन अघिमात्र भारत भ्रमणबाट फर्केका हुन् । भारतमा हुँदा उनी त्यहाँको सत्तासिन भारतीय जनता पार्टीका केहि नेताहरु लगायत बाबा रामदेवसँग पनि भेटवार्ता गरेका थिए ।
रामदेवले त्यहीबाट प्रचण्डसँग टेलिफोन गरेर कुरा गरेको पनि श्रोतको दावी छ । ‘हाम्रो कुलवंस यादव भाईलाई किन दुखदिनु भाका ?’ भन्दै प्रचण्डलाई बावा रामदेवले प्रश्न गरेका थिए ।
बाबा रामदेवको गुरुमन्त्र रसमन्वायपछि मात्र उपेन्द्र यादव सरकारमा फेरि बस्न तयार भएको बताइएको छ ।रामदेव पनि यादव जातीका हुन् भने प्रचण्डसँग उनको जनयुद्ध कालदेखिकै सम्बन्ध रहेको छ । युद्धकालमा प्रचण्ड रामदेवको क्याम्पमा लामो समय बसेका थिए ।
यो पनि पढ्नुहोस् :
उपेन्द्र यादवले भने-‘प्रधानमन्त्रीको विशेषाधिकार हो उहाँले बढी नै माया गर्नुभयो’