Logo
६ बैशाख २०८१, बिहीबार
(November 19, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हुम्लामा स्याउ जोन कार्यक्रम शुरु हुँदै

हुम्लाको सिमकोट गाउँपालिकालाई स्याउको पकेट क्षेत्रका रुपमा विकास गर्न लागिएको हो ।

प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजना अन्तर्गत सरकारले उक्त योजना ल्याएको हो । सिमकोटका किसानलाई लक्षित गरी ल्याइएको ‘स्याउ जोन कार्यक्रम’ ६ वर्षसम्म सञ्चालन हुने कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ ।

उक्त परियोजनामा ७० प्रतिशत सङ्घीय सरकारको र ३० प्रतिशत स्थानीयवासीको लगानी हुने परियोजना कार्यन्वयन इकाई हुम्लाका प्रमुख राम सुरत पालले जानकारी दिए ।

जिल्लाको सिमकोट गाउँपालिका-३, ४ को पाँच सय हेक्टर क्षेत्रफलमा सो परियोजना कार्यान्वन हुने जनाएको छ । “समुद्री सहतबाट दुई हजार एक सयदेखि तीन हजार मिटर उचाईसम्मको भु-भागमा स्याउ उत्पादन गर्न सकिने छ”, इकाई प्रमुख पालले भने, “स्याउ खेती विस्तारका लागि जिल्लाका सातवटा गाउँपालिकासँग समन्वय भइरहेको छ ।”

जिल्लाका विभिन्न क्षेत्रमा उन्नत जातको बीउ, नयाँ पद्दति तथा प्रविधि अपनाएर सुहाउँदो अनुकूल परिस्थिति हेरेर स्याउखेती गरिने उनले बताए । स्याउ जोन कार्यक्रमका लागि ठाउँ छनोट गरेर माटो परीक्षण गरी स्याउखेती शुरु गरिने उनले बताए । अबको दुई, तीन वर्षमा सिमकोट गाउँपालिका-३/४ मा स्याउ उत्पादन गर्ने गरी कार्यक्रम कार्यान्वयन गरिने पनि उनले बताए ।

स्याउ जोन कार्यक्रम लागू भएपछि यहाँका किसानको आम्दानीको स्रोत बढ्ने अपेक्षा गरिएको छ । हुम्लामा केही किसानले व्यावसायिक रुपमा स्याउ उत्पादन गर्दै आएको भएपनि बजार र ढुवानीको समस्याले बारीमा फलेका स्याउलाई बजारसम्म पु¥याउन नसक्दा यसको खेतीतर्फ किसानको निरासा बढ्दै गएको स्याउ उत्पादक किसान गोविन्द लामाको भनाइ छ ।

कृषि क्षेत्रको उत्पादन र उत्पादकत्वमा वृद्धि, कृषि सामग्री र प्रविधिको प्रयोग, कृषिमा यान्त्रिकीरण, कृषि उपजको स्याहार, प्रशोधन, गुणस्तर नियन्त्रण, बजार व्यवस्थापन तथा प्राविधिक शिक्षासमेतको संयोजन गर्दै समग्र कृषि क्षेत्रको आधुनिकीकरण गर्न प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजना सुरु गेरको हो ।

प्रकाशित मिति: Nov 19, 2019

प्रतिक्रिया दिनुहोस्