मन्त्रिपरिषद् पुनर्गठन र सभामुखमा जुटेन सहमति, प्रधानमन्त्रीसँग प्रचण्डको नयाँ प्रस्ताव
काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई कार्यकारी अध्यक्ष बनाउनुपर्ने प्रस्ताव अर्का अध्यक्ष केपी शर्मा ओलीसमक्ष राखेका छन् ।
तर प्रधानमन्त्री एवं अध्यक्ष ओलीले सहमति नजनाएपछि मन्त्रिपरिषद् विस्तार र सभामुख समेत टुंगो लाग्न सकेन । सकेसम्म सोमबार, नभए मंगलबार मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्री ओलीको तयारी थियो । त्यसकै पूर्वतयारीस्वरुप अध्यक्षद्वय ओली र प्रचण्डबीच सोमबार साँझ भेटवार्ता पनि भयो, तर सहमति जुट्न सकेन ।
मन्त्री हेरफेरबारे ठोस सहमति नभएपछि प्रचण्डले कार्यकारी अध्यक्ष र सभामुखको विषय प्रवेश गराएका थिए । स्रोतकाअनुसार प्रचण्डले आफूलाई कार्यकारी अध्यक्ष दिनुपर्ने माग राखेका थिए, तर ओलीले हुन्छ भनेका छैनन् ।
स्रोतकाअनुसार अध्यक्ष प्रचण्डले ठूलो संख्यामा मन्त्रीहरु हेरफेर गरेर मन्त्रिपरिषद पुनर्गठन भएको सन्देश दिनुपर्ने मत राखेका थिए ।‘३/४ जना मन्त्री मात्र फेर्ने हो भने सरकारको काम अब प्रभावकारी हुन्छ भन्ने सन्देश जाँदैन,’ उनी निकट एक नेता भन्छन् ।
तत्कालीन एमाले र माओवादीबीच पार्टी एकता गर्दा ओली र प्रचण्डबीच प्रधानमन्त्रीमा आलोपालो गर्ने सहमति भएको थियो । सुरुमा आलोपालो प्रधानमन्त्रीमा जोड दिएका प्रचण्डले पछिल्लो समय भने आफूलाई पार्टीको जिम्मेवारी दिएर ओलीले पाँच वर्ष सरकार चलाउँदा मान्य हुने मत राख्दै आएका छन् ।
तर प्रधानमन्त्री ओली त्यसमा पनि सहमत देखिएका छैनन् । ओली निकट नेताहरुले पनि अहिले पनि ओली र प्रचण्ड दुवै कार्यकारी अध्यक्ष भएको तर्क गर्छन् ।