Logo
१३ बैशाख २०८१, बिहीबार
(November 13, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पार्टी एकताका लागि सरकार छोड्दै सपा, महाधिवेशन स्थगित गर्दै राजपा

सत्तारुढ समाजवादी पार्टीसँग एकीकरणका लागि कुर्दा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले महाधिवेशन नै रोकेको छ । दुवै पार्टी एकीकरणका लागि सत्तारुढ समाजवादीले केन्द्रीय समिति बैठक गर्दैछ । समाजवादीको हाल चलिरहेको पदाधिकारी बैठकमा समेत सरकार छाडेर राजपासँग एकीकरण गर्ने प्रस्तावमाथि छलफल चलिरहेको एक नेताले बताए ।

समाजवादी र राजपाबीच पार्टी एकीकरणको लागि विगत ६ महिनादेखि भएको अनौपचारिक वार्ता परिणाममुखी बनाउन समाजवादीले केन्द्रीय समिति बैठक गर्दैछ भने राजपाले महाधिवेशन नै रोकेको छ । पार्टी एकीकरणको लागि दुवै पार्टीका शीर्ष नेताबीच सहमति भएपनि औपचारिक निर्णयका लागि दुवै दलले वातावरण बनाउँदै छन् ।

त्यसका लागि ६ वटा मधेश केन्द्रीत दल मिलेर बनेको राजपाले संगठनात्मक संरचना निर्माण गर्न तत्काल वडादेखि जिल्ला तहसम्म तदर्थ समिति बनाउने निर्णय गरिसकेको छ । समाजवादीले विहीबार (२८ कात्तिक) देखि आयोजना गरेको केन्द्रीय समिति बैठकमा राजपासँग पार्टी एकीकरण गर्ने प्रस्तावमा समेत छलफल हुने भएको छ ।

त्यसका लागि समाजवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकार छाड्ने निर्णय गर्ने वताइएको छ । समाजवादीभित्र सरकारमा बसेर मधेश र मधेशी जनताको पक्षमा काम गर्न नसकेको, संविधान संशोधन गर्न नसकेको, सरकारले लिने महत्वपूर्ण निर्णयमा समाजवादीलाई उपेक्षा गरिएको भन्दै सरकार छाड्न चर्को दबाब परेको छ ।

शहरी विकास मन्त्री इस्तियाक राईले भने तत्काल सरकार छाड्न नहुने तर्क पेश गरेका छन् । समाजबादी पार्टीसँग एकीकरण गर्न सरकार छाड्नु पर्ने प्रस्ताव सर्तको रुपमा राजपाले अघि सारेको छ । तर, समाजवादीले सैद्धान्तिक संगठनात्मक संरचनाको विषयमा सहमति भए सरकारमा रहने र नहरने विषयले कुनै अर्थ नराख्ने बताउँदै आएको छ ।

समाजवादीले सरकारबाट अलग्गिने निर्णय नगरेसम्म पार्टी एकता हुन नसक्ने अड्डी राजपाले लिएपछि सरकार छाड्ने दबाबमा समाजवादी आएको हो । गत जेठमा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमसँग नयाँ शक्ति पार्टी एकीकरणपछि सरकार छाड्न झन् दबाब परेको छ ।

समाजवादीका अर्का अध्यक्ष डा. बाबुराम भट्टराई सरकारको कट्टर विरोधीको रुपमा प्रस्तुत हुँदै आएका छन् । उनी समाजवादीमा एकीकरण भएको तत्कालिन नयाँ शक्ति पार्टीका संयोजक हुन् ।

समाजवादीसँग पार्टी एकीकरण गर्नकै लागि राजपाले भोलि (२८ कात्तिक) देखि हुने पार्टीको पहिलो अधिवेशन नै स्थगित गरेको छ । राजपाले महाधिवेशनको तयारी पुरा गर्न र पार्टीको संगठनात्मक संरचना तयार गर्न तत्काल तदर्थ समिति गठन गरेको राजपाको बुझाई छ ।

‘तीन विषयमा सहमति गर्नु पर्ने छ, हामीले सैद्धान्तिक, संगठनात्मक र तत्कालिन राजनीतिक विषयमा धारणा स्पस्ट पार्न समाजवादी पार्टीलाई प्रस्ताव पठाएका छौं’, राजपा अध्यक्ष मण्डलका सदस्य शरतसिंह भण्डारीले भने । एकीकरण प्रक्रिया अगाडि बढाउने दायित्व अब समाजवादीको कोर्टमा रहेको र परिणाम कस्तो दिने समाजवादीमै भर पर्ने भण्डारीले बताए ।

राजपाले २८ देखि ३० कात्तिकसम्म पार्टीको एकताको पहिलो महाधिवेशन गर्ने मिति घोषणा गरेको थियो । त्यही मितिमा समाजवादीले पनि केन्द्रीय समितिको बैठक बोलाएको छ । समाजवादी पार्टीले पार्टी एकीकरणको लागि केही समय माग गरेपछि राजपाले पनि महाधिवेशन टारेर पार्टीको संगठनात्मक संरचना निर्माण गर्ने भन्दै तदर्थ समिति गठन गर्न ५५ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइसकेको छ ।

राजपाले वडा, स्थानीयत तह, प्रदेशसभा निर्वाचन क्षेत्र, संघीय निर्वाचन क्षेत्र र जिल्ला तदर्थ समिति गठन गर्ने जिम्मेवारी केन्द्रीय प्रतिनिधिलाई दिएको छ । तत्कालिन संघीय समाजवादी र नयाँ शक्तिबीच एकता भएपछि समाजवादीले पनि देशैभरी पार्टी एकता अभियान चलाइरहेको छ ।

पार्टी एकताका आधार

दुवै पार्टीबीच एकीकरण गर्न समाजवादीलाई राजपाले पठाएको प्रस्ताव र सहमतिको आधारहरु सकारात्मक भएको एक नेताले बताए ।उनका अनुसार सैद्धान्तिक सहमतिको लागि दुवै पार्टीबीच पहिलो चरणमा कुरा भएको छ । त्यसका लागि सैद्धान्तिक सहमति भएका विषयमा सहमति गर्ने र असहमति भएको विषयमा महाधिवेशनबाटै टुंगो लगाइने भएको छ ।

त्यस्तै, संगठनात्मक संरचनाका विषयमा दुवै पार्टीबाट चार/चार जनाका दरले ८ जना शीर्ष नेता रहने र केन्द्रीय समिति सदस्यको संख्या बराबरी गर्ने सहमति भएको छ । जसलाई दुवै पार्टीका नेताले समानता र सम्मानजनक एकताको आधार मानेका छन् ।

समाजवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकार छाड्ने विषयमा दुवै दलका शीर्ष नेताबीच सहमति भएको छ । नेताहरुबीच भएको सहमतिप्रति राजपामा अध्यक्ष मण्डलका सदस्यहरु अनिल झा र राजकिशोर यादवले असन्तुष्टी जनाएका छन् ।

समाजवादीको तर्फबाट संघीय सरकारमा सहभागी भएका शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले असहमति जनाएका छन् भन्दै शिलापत्रमा खबर छ ।

 

प्रकाशित मिति: Nov 13, 2019

प्रतिक्रिया दिनुहोस्