Logo
७ बैशाख २०८१, शुक्रबार
(November 13, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आपराधिक क्रियाकलाप रोक्न सुदृढ र भरपर्दो सूचना आवश्यक : गृहमन्त्री थापा

काठमाडौं : गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले आपराधिक क्रियाकलाप रोक्न सुदृढ र भरपर्दो सूचना आवश्यक हुने बताएका छन् ।

राष्ट्रिय अनुसन्धान विभागका उप-अनुसन्धान निर्देशक र प्रमुख अनुसन्धान अधिकृतका लागि काठमाडौंमा आयोजित ‘अप्रेसन कमाण्ड तथा नेतृत्व विकास तालिम’को बुधवार समापनका क्रममा उनले विश्वसनीय सूचना प्रणालीले मात्रै समाजमा शान्ति, सुरक्षा र अमनचयन कायम गर्न सकिनेमा जोड दिए ।

देशको शान्ति सुरक्षा र अमन चयनलाई आन्तरिक वा वाह्यरुपमा मजबुद बनाउन सबै सुरक्षा निकायबीच संयुक्तरुपमा कार्य सञ्चालन हुनुपर्नेमा जोड दिँदै उनले संगठित अपराध, लागूऔषध, मानव वेचबिखन र साइबर क्राइमजस्ता गतिविधिमार्फत देशलाई कमजोर बनाउने तत्व अझै सक्रिय रहेका बताए ।

‘संगठित अपराध, लागूऔषध, मानव बेचबिखन, साइबर क्राइमजस्ता गतिविधि रोक्न सुदृढ र भरपर्दो सूचनाको आवश्यकता हुन्छ, तसर्थ राष्ट्रिय अनुसन्धान विभागलाई अझ सुदृढ र विश्वसनीय बनाई व्यवसायिक इन्टेलिजेन्स संस्थामा रुपान्तरण गर्न यस तालिमले थप मद्दत गर्नेछ,’ गृहमन्त्री थापाले भने ।

कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले राष्ट्रिय सुरक्षा चुनौतीको पहिचान गरी प्रभावकारी सूचना संकलन र विश्लेषणद्वारा त्यस्ता चुनौतीलाई निस्तेज बनाउन अनुसन्धान अधिकृतको व्यावसायिक दक्षता र सीप महत्वपूर्ण हुने उल्लेख गरे ।

कार्यक्रममा राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक गणेशप्रसाद अधिकारीले तालिमको उद्देश्यबारे प्रष्ट्याएको थियो । ४५ दिनसम्म चलेको तालिममा राष्ट्रिय अनुसन्धान विभागका १५ उपअनुसन्धान निर्देशक र १० प्रमुख अनुसन्धान अधिकृतको सहभागिता थियो ।

प्रकाशित मिति: Nov 13, 2019

प्रतिक्रिया दिनुहोस्