Logo
२८ असार २०८२, शनिबार
(November 13, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मन्त्रिपरिषद् पुनर्गठन : कुन-कुन मन्त्री ‘डेन्जर’ जोनमा ? को-को थपिदै ?

पछिल्लो समय नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड दिनहुँजसो भेटवार्ता गरिरहेका छन् । भेटवार्तामा पार्टी एकता र सरकारका बारेमा केन्द्रित भएर कुराकानी हुने गरेको दुवै नेता निकटस्थहरू बताउँछन् ।

त्यस क्रममा उनीहरूबीच सामान्य अवस्था रहिरहे मङ्सिर पहिलो साता, नभए १४ गतेपछि केही मन्त्रीहरूको जिम्मेवारी हेरफेर गर्ने विषयमा कुराकानी भए पनि कुन मन्त्रीलाई हटाउने र कुन मन्त्रीलाई राख्ने भन्ने निर्णय भइनसकेको बताइएको छ ।

नेकपाका प्रवक्ता श्रेष्ठले पनि मन्त्रीमण्डल पुनर्गठनबारे पार्टीमा औपचारिक छलफल भइनसकेको बताए । ‘मन्त्रीमण्डल हेरफेरबारे पार्टी्भित्र छलफल सुरु भइसकेको छैन । तर प्रधानमन्त्रीले आवश्यक ठानेमा हेरफेर हुनसक्छ’, उनले भने, ‘केही दिन अगाडिबाट मन्त्रीमण्डल हेरफेरबारे लगातार आएका समाचारहरूमा भने सत्यता छैन ।’

कुन-कुन मन्त्री ‘डेन्जर’ जोनमा ?

प्रधानमन्त्री ओलीले उद्योगमन्त्री मातृका यादव, कृषिमन्त्री चक्रपाणि खनाल, सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, भूमि व्यवस्थामन्त्री पद्मा अर्याल, श्रममन्त्री गोकर्ण विष्ट, खेलकुदमन्त्री जगत विश्वकर्मा, महिला तथा बालबालिकामन्त्री थममाया थापा, खानेपानीमन्त्री बिना मगरले आफ्नो परफर्मेन्स देखाउन नसकेको मूल्याङ्कन गरेका छन् ।

विगत झण्डै २० महिनाको कार्यसम्पादनका आधारमा ओलीले यी मन्त्रीको मूल्याङ्कन गरेका हुन् । अर्थमन्त्री युवराज खतिवडा पनि डेन्जर जोनबाट बाहिर छैनन् । त्यस्तै भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ डेन्जर जोनमा परेका अर्का मन्त्रीमा पर्छन् । यी १० जना मन्त्रीहरूले राम्रो परफर्मेन्स देखाउन नसकेकाले उनीहरूको ठाउँमा अन्यलाई स्थान दिने मनस्थितिमा ओली–प्रचण्ड पुगेको बुझिएको छ ।

कार्यसम्पादनमा मध्यम देखिएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, सञ्चारमन्त्री गोकुल बाँस्कोटा, पर्यटनमन्त्री योगेश भट्टराई र कानुनमन्त्री भानुभक्त ढकाल भने तत्काल नहट्ने सूचीमा रहेका छन् । त्यस्तै गृहमन्त्री रामबहादुर थापा, ऊर्जामन्त्री वर्षमान पुन र शिक्षामन्त्री गिरिराजमणि पोखरेलबारे भने अहिलेसम्म कुनै छलफल नभएको बालुवाटार स्रोत बताउँछ ।

को-को पर्दैछन् पुनर्गठनमा ?

प्रधानमन्त्रीले आफ्नो मन्त्रिपरिषद् पुनर्गठन गरेमा नेकपाका नेता सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, देवेन्द्र पौडेल, जनार्दन शर्मा, पम्फा भुसाल र अग्नि सापकोटा मन्त्री बन्नसक्ने सूचीमा रहेका छन् ।

उपसभामुख शिवमाया तुम्बाहम्फेलाई पनि उपसभामुखबाट राजीनामा दिएर मन्त्री बनाउने या अन्त कतै सेटल गर्ने भन्नेमा ओली र प्रचण्डबीच निक्र्योल भइनसकेको बुझिएको छ ।

नेकपाभित्र उपसभामुख तुम्बाहाम्फेलाई राजीनामा गर्न लगाएर सभामुखमा नेकपाकै अर्को व्यक्ति ल्याउने चर्चा यौन प्रकरणमा मुछिएपछि सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महरा प्रकरणपछि चलेको थियो ।

तर तुम्बाहाम्फेले आफू राजीनामा नगर्ने बताएपछि यसबारे निर्णय गर्न नेकपालाई सकस परिरहेको छ ।

प्रकाशित मिति: Nov 13, 2019

प्रतिक्रिया दिनुहोस्