‘कास्कीको एक सीटमा कम्युनिस्टले हार्दा सरकार ढल्दैन, काँग्रेसले जित्दा उत्पात बढ्दैन’
पोखरा : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कम्युनिस्ट बिचार बोकेर काँग्रेसले कम्युनिस्टलाई हराउन नसक्ने भन्दै काँग्रेस र कम्युनिस्टको विकल्प राप्रपा भएको दाबी गरेका छन् ।
कास्की–२ को उपनिर्वाचन प्रचार अभियानको क्रममा आज पोखराको बिरौटामा आयोजित सभालाई सम्बोधन गर्दै थापाले भने, ‘राप्रपाले आगामी दिनमा जनता केन्द्रित, संगठन केन्द्रित सिद्धान्त केन्द्रित राजनीति गर्नेछ’ भन्दै थापाले भने, ‘सत्ताकेन्द्रीत राजनितीलाई महत्त्व नदिई आदर्शको राजनीति गर्छौंँ ।’
उनले बिगतमा आफूहरुबाट भएका त्रुटि र कमजोरीबाट पाठ सिक्दै सच्चिएर अघि बढ्ने समेत प्रतिबद्धता समेत ब्यक्त गरे । ‘कास्कीको एक सीटमा कम्युनिस्टले हार्दा सरकार ढल्दैन, काँग्रेसले जित्दा उत्पात बढ्दैन,’ थापाले परिवर्तनको सन्देश दिन राप्रपालाई सघाउन उनले आग्रह गरे ।
मन्तव्यका क्रममा राजनीतिक परिवर्तनले धर्मान्तरण र विदेशी प्रभाव अनि दबाब मात्र बढाएको भन्दै राष्ट्रियता कमजोर भएको उनको टिप्पणी थियो ।
कार्यक्रममा उपाध्यक्ष तथा पूर्व मन्त्री तोरण बहादुर गुरुङ, प्रदेश अध्यक्ष हेमजङ्ग गुरुङ ,सहायक महामन्त्री मदन बहादुर कार्की, विन्दु पहारी, केन्द्रीय सदस्य तथा निर्वाचन परिचालन संयोजक जयलाल पुन लगायतले धारणा थिए ।
सो अवसरमा राप्रपा अध्यक्ष थापाले पोखरा १६ र १७ को चुनावी प्रचारप्रसार कार्यालयको उद्घाटन समेत गरेका थिए भने विभिन्न पार्टी परित्याग गरी राप्रपामा प्रवेश गर्नेहरुलाई अध्यक्ष थापाले पार्टी प्रवेश गराएका थिए ।