नक्साबारे भारतलाई जवाफ दिन प्रधानमन्त्री निवासमा सर्वदलीय-सर्वपक्षीय बैठक
लिपुलेक विवादबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा सर्वपक्षीय परामर्श बैठक सुरु भएको छ । प्रधानमन्त्रीको आह्वानमा उक्त बैठक बसेको हो । सर्वदलीय र विज्ञहरुको परामर्शबाट समान धारणा बनाउन प्रधानमन्त्रीले शनिबार बैठक बोलाएका हुन् ।
भारतले नेपाली भूभाग कालापानी, लिम्पियाधुरा र लिपुलेक आफ्नो नक्सामा राखेपछि जनस्तरमा विरोध भइरहेको छ ।
सरकारले एकपक्षीय नक्सा मान्य नहुने बताएको छ । जवाफमा भारतले आफ्नो नक्सामा नेपालको भूभाग नपारिएको र बिगतकै नक्सा रहेको बताइसकेको छ ।
तर नेपालमा जनस्तरबाट विरोध जारी छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा), प्रमुख विपक्षी नेपाली कांग्रेस लगायतका दलले साझा धारणा बनाउन र तत्काल भारतसँग कूटनीतिक सम्वाद गरी सीमा समस्या सुल्झाउन आग्रह गरेका छन् ।
अपरान्ह ४ बजेबाट सुरु भएको बैठकमा पूर्व प्रधानमन्त्रीहरु, पूर्वपरराष्ट्र मन्त्रीहरुका साथै सीमा विज्ञहरुलाई बोलाइएको प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा.राजन भट्टराईले जानकारी दिए ।
बैठकमा राजनीतिक दलका प्रतिनिधिहरु पनि सहभागी रहेका छन् ।