Logo
२१ बैशाख २०८१, शुक्रबार
(November 4, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पक्राउ परेको २५ दिनपछि महरालाई जेलमा थुन्न अदालतको आदेश

संसद सचिवालयकी एक महिला कर्मचारीमाथि बलात्कार प्रयास गरेको आरोप लागेका निवर्तमान सभामुख कृष्ण बहादुर महरालाई जिल्ला अदालत काठमाडौंँले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

महराविरुद्धको मुद्दाको थुनछेक बहस आइतबार र सोमबार गरी दुई दिनसम्म चलेको थियो । शुक्रबार जिल्ला अदालत काठमाडौँका न्यायाधीशसमक्ष आरोपित महराले करीब ५ घण्टा इन्कारी बयान दिएका थिए ।

अब महरा मुद्दाको फैसला नभएसम्म पुर्पक्षका लागि थुनामा रहनेछन् । महरालाई डिल्लीबजार कारागार पठाइएको छ । फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐनको दफा १५ (२) को (ङ) अनुसारको सजाय दाबी गरिएको छ ।

जिल्ला अदालत काठमाडौंँमा सरकारी वकील र महरा पक्षका वकीलको बहस सुनेपछि न्यायाधीश सुदर्शन पाण्डेको इजलासले महरालाई थुनामा राख्न आदेश दिएको जिल्ला अदालत काठमाडौँका श्रेस्तेदार आनन्द प्रसाद श्रेष्ठले जानकारी दिए ।

बिहीबार दर्ता भएको महराविरुद्धको मुद्दामा शुक्रबार न्यायाधीशसँगको बयान सकिएको थियो । शुक्रबारबाटै थुनछेक बहस सुरु हुने भनिए पनि समय अभावका कारण आइतबारबाट मात्रै थुनछेक बहस सुरु भएको थियो ।

पक्राउ परेको २५ दिनपछि बिहीबार महराविरुद्ध सरकारी वकिलको कार्यालयले जिल्ला अदालत काठमाडौँमा जबर्जस्ती करणी उद्योगअन्र्तगत मुद्दा दर्ता गरेको थियो ।

मुलुकी अपराध संहिताको दफा २१९ (३) अनुसार १८ वर्षभन्दा बढी उमेरकी महिलासँगको करणीमा न्यूनतम सातदेखि अधिकतम १० वर्षसम्म कैदको व्यवस्था छ ।

महराको हकमा करणी प्रयास उद्योगमा मुद्दा दर्ता गरिएकाले उक्त सजायको आधामात्र माग दाबी गरिएको छ । जसअनुसार साढे सात वर्षसम्म कैद दाबी गरिएको छ ।

उनीमाथि सार्वजनिक पद धारण गरेको व्यक्तिले कसुर गरेकाले अभियोगपत्रमा थप डेढी सजाय माग गरिएको छ ।

 

प्रकाशित मिति: Nov 4, 2019

प्रतिक्रिया दिनुहोस्