Logo
११ असार २०८२, बुधबार
(November 4, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आलमविरुद्ध इट्टाभट्टाको चिम्नीमा दर्जन बढी व्यक्तिलाई जिउँदै जलाएको अभियोग दर्ता

संघीय सांसद मोहम्मद अफताब आलमविरुद्ध दर्जन भन्दा बढी व्यक्तिलाई इँटाभट्टाको चिम्नीमा हालेर जिउँदै जलाएको अभियोग दर्ता भएको छ ।

जिल्ला सरकारी वकिल कार्यालयले आलमसहितका व्यक्तिले त्रिलोकप्रताप सिंह र ओसी अख्तर मियाँसहित दर्जन भन्दा बढी व्यक्तिलाई इट्टाभट्टाको चिम्नीमा जिउँदै जलाई क्रुर मानवताविरुद्धको कसूर अपराध गरेको भन्दै जिल्ला अदालत रौतहटमा अभियोगपत्र दर्ता गरेको हो ।

सरकारी वकिल कार्याललयले आलमसहितका व्यक्तिले कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र गैरकानुनी रुपमा विस्फोटक पदार्थ राख्ने अपराध गरेको दावीसहित यी तीनवटै कसूरमा सजाय माग दावी गरेको छ ।

सरकारी वकिल कार्यालयले आलमसहित उनका भाइ मोहम्मद महताब आलम, शेख भदई, मोहम्मद मोविन आलम, शेख सेराज, बद्री सहनी, शेख फजलेहक, सगिर आलम, शेख जुमइन भन्ने शेख मलकार र गौरीशंहर साहसमेत विरुद्ध अभियोगपत्र दायर गरेको हो ।

आलमबाहेक अरु सबै फरार रहेका छन् । उनीहरुविरुद्ध पक्राउ पूजी म्याद जारी गर्न पनि सरकारी वकिल कार्यालयले माग गरेको छ ।

त्यस्तै घाइते सफी अहमद र गौरीशंकर राम चमारमाथि ज्यान मार्ने उद्योग गरेको आरोपमा मुलुकी ऐन २०२० को ज्यानसम्बन्धी महलको १५ नम्बर र मुलुकी अपराध संहिताको १८३ (२) बमोजिम कारबाही गर्न मागदावी गरिएको छ ।

मुलुकी ऐन २०२० को ज्यानसम्बन्धी महलको १५ नम्बर अनुसार ज्यान मार्ने उद्योग गर्नेलाई ५ देखि १२ वर्षसम्म कैद सजाय हुनेछ । यही कसूरमा मुलुकी अपराध संहिताले १० वर्ष कैद र १ लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था गरेको छ ।

त्यस्तै सरकारी वकिल कार्यालयले घाइतेहरुलाई जिउँदै जलाएको अभियोगमा मुलुकी ऐन २०२० को ज्यानसम्बन्धी महलको १ र १३ (१) अनुसार र मुलुकी अपराध संहिताको दफा १७७ (२) अनुसार कारबाही गर्न माग गरिएको छ । यो कसूरमा सर्वस्वसहित जन्मकैद हुने व्यवस्था छ ।

हेर्नुस् भिडियो : 

प्रकाशित मिति: Nov 4, 2019

प्रतिक्रिया दिनुहोस्