‘अघिल्लो सरकारले नियुक्ति गरेका प्रमुखहरुलाई हटाउने सरकारको निर्णय स्वभाविक हो’
काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले प्रदेश प्रमुखहरुलाई हटाउने सरकारको निर्णयलाई स्वभाविकै रुपमा लिनुपर्ने बताएका छन् ।
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस लगायतका दलहरुले प्रदेश प्रमुखहरुलाई एकैसाथ हटाउने निर्णयप्रति आपत्ति जनाइरहेका बेला महासचिव पौडेलले भने सरकारको सो निर्णयलाई स्वभाविकै रुपमा लिनुपर्ने प्रतिक्रिया दिएका हुन् ।
सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले भने, ‘संवैधानिक व्यवस्था अनुरुपनै प्रदेश प्रमुखहरु पदमुक्त भएका छन र सरकारले मनोनयनको प्रक्रिया पनि अघि बढाएको छ, सरकारले संवैधानिक प्रक्रिया अनुसार सो काम गर्दाखेरी अन्य दलहरुको सरकारसँगको सहकार्यको बाटो बन्द हुन्छ भन्ने मलाई लाग्दैन ।’ महासचिव पौडेलले लोकतन्त्रमा सरकारको विरोध गर्न पाइने भएकाले त्यसको आफूले सम्मान गर्ने पनि बताए ।
महासचिव पौडेलले प्रदेश प्रमुख सरकारको प्रतिनिधिको रुपमा रहने भएकाले अघिल्लो सरकारले नियुक्ति गरेका प्रमुखहरुलाई हटाउने काम स्वभाविकै भएको तर्क पनि पटक-पटक गरे । सरकारले आफ्नो स्पिरिटमा काम गर्ने गरी प्रदेश प्रमुखहरुको चयन प्रक्रिया अघि बढाएको महासचिव पौडेलको भनाई छ ।